चौरीदेउराली- काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा, स्वास्थ्य र खेलकुद सहितको सामाजिक विकास क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाका अध्यक्ष रेणुका चौलागाईले आज सभा समक्ष प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सूचना प्रविधिको प्रयोग, व्यावहारिक शिक्षा र नागरिकको स्वास्थ्य पहुँचमा नवीन योजनाहरू अघि सारिएका छन्।

शिक्षा क्षेत्रमा डिजिटल रूपान्तरण र ‘पढ्दै कमाउँदै’ नीति

गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि निर्माण भइसकेको ‘गाउँ शिक्षा योजना’लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने घोषणा गरेको छ। आर्थिक रूपमा कमजोर विद्यालयहरूलाई राहत दिन तहगत रूपमा कार्यालय सञ्चालन खर्च उपलब्ध गराउने नयाँ कार्यको सुरुवात गरिने नीतिमा उल्लेख छ।

शिक्षा क्षेत्रका मुख्य आकर्षणहरू:

१. संविधानको मर्म अनुरूप अनिवार्य र निःशुल्क शिक्षाको प्रत्याभूतिका लागि अति विपन्न, दलित, गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई आर्थिक अभावकै कारण पढाइबाट वञ्चित हुन नदिन ‘अध्यक्ष विद्यार्थी कोष’ स्थापना गरिने भएको छ।

२. विद्यार्थीहरूलाई कृषि सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान दिँदै आयआर्जनका कार्यमा संलग्न गराइनेछ।

३. विद्यालयहरूमा ई-हाजिरी र सिसिटिभी जडान गरी कार्य वातावरण चुस्त बनाइनेछ भने इन्टरनेट सेवालाई नियमित र गुणस्तरीय बनाइने नीति लिइएको छ।

४.  प्रत्येक शुक्रबार विद्यालयहरूमा वक्तृत्वकला, सामान्य ज्ञान, खेलकुद र सङ्गीत जस्ता व्यावहारिक र सिर्जनशील कक्षा सञ्चालन गरिनेछ।

५. बालविकास शिक्षक र विद्यालय कर्मचारीको प्रोत्साहन अनुदानलाई निरन्तरता दिइएको छ। साथै, शैक्षिक गुणस्तर कायम गर्न कार्य सम्पादन मूल्याङ्कनका आधारमा प्रधानाध्यापकहरूलाई त्रैमासिक रूपमा थप भत्ताको व्यवस्था गरिनेछ। विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक दरबन्दी मिलान समेत गरिनेछ।

यसका साथै, युवाहरूलाई सरकारी सेवा प्रवेशमा प्रोत्साहन गर्न लोक सेवा आयोग र शिक्षक सेवा आयोगका लागि भौतिक तथा अनलाइन तयारी कक्षा सञ्चालन गर्ने नवीन कार्यक्रम नीतिमा समेटिएको छ।

स्वास्थ्य क्षेत्र: सुत्केरी र विपन्नलाई निःशुल्क एम्बुलेन्स

नागरिकको स्वास्थ्यमाथिको आर्थिक भार कम गर्न गाउँपालिकाले स्वास्थ्य बीमा कार्यक्रममा सबै पालिकाबासीलाई आबद्ध गराउने रणनीति लिएको छ। बीमा कार्यक्रमलाई सहज बनाउन नयाँ दर्ता सहयोगीहरू छनोट गरिनेछ।

स्वास्थ्य क्षेत्रका मुख्य बुँदाहरू:

१. सुत्केरी हुन अस्पताल वा बर्थिङ सेन्टर जाने महिलाहरूका लागि गाउँपालिकाभरि पूर्ण निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ। आर्थिक अवस्था कमजोर भएका अन्य नागरिकले पनि यो निःशुल्क सेवा पाउनेछन्।

२.  धुसेनी शिवालय अस्पतालको सेवालाई थप प्रभावकारी बनाइनेछ भने दुती सामुदायिक स्वास्थ्य इकाईको सुदृढीकरणका लागि आवश्यक बजेट व्यवस्था गरिनेछ।

३. बढ्दो मानसिक स्वास्थ्य समस्या न्यूनीकरणका लागि विद्यालय र समुदायस्तरमा मनोपरामर्श, तनाव व्यवस्थापन र योग सम्बन्धी कार्यक्रम चलाइनेछ।

४. सरकारले तोकेका निःशुल्क औषधिहरू सबै स्वास्थ्य संस्थाबाट नियमित उपलब्ध गराइनेछ भने नागरिकको पहुँच विस्तारका लागि विशेषज्ञ स्वास्थ्य शिविर र विद्यालयहरूमा नियमित विद्यार्थी स्वास्थ्य परीक्षण गरिनेछ।

गाउँपालिका पूर्णखोप घोषणा भइसकेको सन्दर्भमा यसको दिगोपनाका लागि बालकालिकाको खोप कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता समेत जनाइएको छ।

खेलकुद: तेक्वान्दो शिक्षा र खेलाडीलाई प्रोत्साहन

खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकाले ‘अध्यक्ष कप’ र विद्यालय स्तरीय ‘राष्ट्रपति रनिङ्ग शिल्ड’ जस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिने भएको छ। गाउँपालिका भित्रका माध्यमिक विद्यालयहरूमा तेक्वान्दो खेललाई विशेष रूपमा प्रोत्साहित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। जिल्ला, प्रदेश तथा विभिन्न तहका खेलकुदमा सहभागी हुने खेलाडी तथा व्यवस्थापन टोलीलाई पालिकाको तर्फबाट आवश्यक सहयोग र विधागत रूपमा योगदान पुर्‍याउने खेलाडीहरूलाई सम्मान गरिने योजना अघि सारिएको छ।

गाउँपालिका अध्यक्ष चौलागाईद्वारा प्रस्तुत यो नीति तथा कार्यक्रमले चौरीदेउरालीको समग्र सामाजिक, शैक्षिक र स्वास्थ्य क्षेत्रको रूपान्तरणमा महत्त्वपूर्ण इँटा थप्ने विश्वास स्थानीयबासीले गरेका छन्।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।