चौरीदेउराली- काभ्रे जिल्लाको चौरीदेउराली गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कृषि तथा पशुपालन क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाका अध्यक्ष रेणुका चौलागाईले आज आयोजित गाउँसभामा उत्पादन वृद्धि, प्रविधिको उपयोग, र कृषक कल्याणमा केन्द्रित रणनीतिहरू प्रस्तुत गर्नुभएको हो।
कृषकलाई प्रविधि र ढुवानीमा अनुदान
गाउँपालिकाले आधुनिक कृषिलाई बढावा दिन कृषकहरूको माग र आवश्यकताका आधारमा कृषि यान्त्रिकरण अनुदान उपलब्ध गराउने कार्यलाई निरन्तरता दिने भएको छ। यसैगरी, किसानलाई रासायनिक मल सहज रूपमा उपलब्ध गराउन सदरमुकामदेखि प्रत्येक वडासम्म लाग्ने ढुवानी भाडा गाउँपालिकाले नै ब्यहोर्ने व्यवस्था मिलाइएको छ। यो भाडा दर दूरीको आधारमा तय गरिने र मल वितरणको प्रभावकारी अनुगमन समेत गरिने अध्यक्ष चौलागाईले बताउनुभयो। कृषकहरूलाई आवश्यक बाली बीउहरू विशेष अनुदानमा वितरण गरी व्यावसायिक उत्पादन प्रणालीमा जोड दिइने नीतिमा उल्लेख छ।
कृषि एम्बुलेन्स र ‘कृषक हातेमालो’ कार्यक्रम
उत्पादित कृषि उपजहरूको बजारीकरणका लागि यातायातको सहज पहुँच स्थापित गर्न गाउँपालिकाले कृषि एम्बुलेन्सलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने घोषणा गरेको छ। गाउँपालिका भित्रका उद्यमशील कृषकहरूलाई प्रोत्साहित गर्न सम्मान र पुरस्कारको व्यवस्था सहित ‘कृषक हातेमालो कार्यक्रम’ सञ्चालन गरिने भएको छ। साथै, हालसम्म अनुदानमा वितरित कृषि उपकरणहरूको अवस्था, नवीकरण र त्यसले उत्पादकत्वमा पारेको प्रभावको सर्भेक्षण मापन तथा अभिलेखीकरणको थालनी गरिनेछ।
माटो परीक्षण र रैथाने बालीको प्रवर्द्धन
उत्पादन वृद्धिका लागि गाउँपालिकाका सबै क्षेत्र समेटिने गरी माटो परीक्षण गरिने र माटो सुहाउँदो बाली लगाउन किसानलाई प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। स्थानीय रैथाने बालीहरू जस्तै: कोदो, फापर र खुर्सानीको बीउ संरक्षण, खेती विस्तार र बजारीकरणको व्यवस्था मिलाइनेछ। यी रैथाने बालीहरूको संरक्षण गर्दै गाउँपालिकामा ‘पूर्ण अर्गानिक भिलेज’ को सम्भाव्यता अध्ययन समेत अघि बढाइने जानकारी दिइएको छ।
निःशुल्क पशु स्वास्थ्य र बिमाको निरन्तरता
पशुपालन क्षेत्रको विकासका लागि पशुहरूमा देखिने विभिन्न रोग विरुद्धका औषधिहरू खरिद गरी घरदैलोमै निःशुल्क उपचार तथा औषधि वितरण गरिने भएको छ। प्राकृतिक रूपबाट गर्भाधान सम्भव नभएका पशुहरूका लागि निःशुल्क कृत्रिम गर्भाधान कार्यलाई निरन्तरता दिइनेछ। विपद र महामारीका कारण पशुपालन व्यवसायमा हुने क्षति न्यूनीकरणका लागि पशु बिमा कार्यक्रमले निरन्तरता पाएको छ भने पि.आर. र लम्पी स्किन जस्ता महामारीजन्य रोग विरुद्ध विशेष कार्यक्रमहरू सञ्चालन गरिनेछ।
वन्यजन्तु र बाँदर आतंक नियन्त्रणमा पहल
गाउँपालिकाभित्र कृषि बालीमा बाँदर तथा अन्य वन्यजन्तुले पुर्याउने क्षति कृषकहरूका लागि ठूलो चुनौती बन्दै आएको सन्दर्भमा यस वर्ष गाउँपालिकाले विशेष चासो देखाएको छ। वन्यजन्तु र बाँदरले पुर्याउने क्षति न्यूनीकरण गर्न आवश्यक प्रविधि तथा उपकरणहरूको खरिदमा सहयोग गर्ने र यसका लागि विशेष पहल कदमी चालिने नीतिमा उल्लेख छ।
गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष चौलागाईले यी कार्यक्रमहरूको सफल कार्यान्वयनबाट चौरीदेउरालीका आम कृषकहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने र गाउँपालिका आर्थिक रूपमा समृद्ध बन्ने विश्वास व्यक्त गर्नुभयो।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।

















