तेमाल- काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले रणनीतिक सडकहरूको स्तरोन्नति, कृषि आधुनिकीकरण र रैथाने बुद्धचित्त मालाको ब्रान्डिङलाई मुख्य प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५३ करोड २७ लाख ९९ हजार रुपैयाँको बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको छ । बुधबार आयोजित गाउँसभाको १९ औं अधिवेशनले पूर्वाधार विकास, सामाजिक रूपान्तरण र सुशासनलाई केन्द्रमा राखेर उक्त नीति, कार्यक्रम र बजेट सर्वसम्मत पारित गरेको हो।

रणनीतिक सडक र विद्यालय पूर्वाधारमा करोडौं विनियोजन

गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङले दीप प्रज्वलन गरी सुरु गर्नुभएको सभामा पालिकादेखि वडा कार्यालय जोड्ने रणनीतिक सडकहरूलाई विशेष प्राथमिकता दिइएको छ।

विनियोजित बजेटमध्ये मुख्य योजनाहरूमा बोहोरेदोभान‐आधाबाट‐डाँडागाउँ‐रोसाइवा सडक स्तरोन्नति: २ करोड ८३ लाख ४० हजार रुपैयाँ, गिम्दीवेशी‐रोसाइवा‐ठूलोपर्सेल बसपार्क सडक स्तरोन्नति: १ करोड ८२ लाख रुपैयाँ, माम्ती टेकानपुर‐खत्रिगाउँ‐मैनाजङ्ग‐सुनकोशी पुल सडक स्तरोन्नति: १ करोड ८२ लाख रुपैयाँ, मैनाजाङ् आधारभूत विद्यालय (तेमाल‐९) भौतिक पूर्वाधार विकास: ७० लाख रुपैयाँ र मंगलटार कल्धारमेटवाल‐कुरुवास‐चापाखोरी धुल्खु सडक (तेमाल‐७): २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

क्षेत्रगत बजेट बाँडफाँट

अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष दलमान थोकर (डिएम) द्वारा सभामा प्रस्तुत बजेटको क्षेत्रगत विवरण निम्न बमोजिम रहेको छ:

क्र.सं.

शीर्षक/क्षेत्र

विनियोजित रकम (रु.)

१.

सुशासन विकास

१३ करोड २३ लाख ९ हजार

२.

सामाजिक विकास (योजना तथा कार्यक्रम)

४ करोड ४५ लाख ३४ हजार

३.

पूर्वाधार विकास (पालिका तथा वडा स्तरीय)

४ करोड १३ लाख ९१ हजार

४.

आर्थिक विकास

१ करोड ३७ लाख

५.

वन, वातावरण तथा विपद् व्यवस्थापन

७५ लाख

कुल बजेट

५३ करोड २७ लाख ९९ हजार

बुद्धचित्तको ब्रान्डिङ र पर्यटन प्रवर्द्धन

नीति तथा कार्यक्रममा तेमालको ऐतिहासिक, धार्मिक सम्पदा र सभ्यताको प्रवर्द्धन गर्ने उद्घोष गरिएको छ। स्थानीय पहिचान बोकेको प्रसिद्ध ‘बुद्धचित्त माला’ लगायतका रैथाने उत्पादनहरूको ब्रान्डिङ र बजारीकरणलाई स्थानीय सरकारको मुख्य कर्तव्यको रूपमा लिइएको छ।

यस्तै, घेलुङ, तोङसुम कुण्ड, ह्रोसाइवा, सत्यनारायण मन्दिर तथा बौद्ध धार्मिक सम्पदाहरूलाई पर्यटनसँग जोडेर स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ।

चुनौतीका बीच विकासको प्रतिबद्धता

गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले सीमित स्रोतसाधन र संघ सरकारबाट अपेक्षाकृत बजेट सहयोग प्राप्त नभए पनि विगतमा खानेपानी, सडक, स्वास्थ्य र शिक्षा क्षेत्रमा प्रत्यक्ष अनुभूति हुने गरी काम भएको दाबी गर्नुभयो। २०८१ असोजको विनाशकारी बाढी-पहिरो जस्ता प्राकृतिक विपद्को सामना गर्दै यहाँसम्म आइपुगेको उल्लेख गर्दै उहाँले अधुरा काम पूरा गर्न सबैलाई एकजुट हुन आह्वान गर्नुभयो।

गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ७ का अध्यक्ष इन्द्रलाल तामाङ, वडा नं. १ का अध्यक्ष इन्द्रबहादुर अधिकारी, वडा नं. २ का अध्यक्ष देवराज तामाङ र कार्यपालिका सदस्य चण्डिका भुजेलले विगत ४ वर्षको जगलाई बलियो बनाउँदै १९ औं गाउँसभाको नीति, कार्यक्रम र बजेट शतप्रतिशत कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अध्यक्ष तामाङको सभाध्यक्षतामा सम्पन्न उक्त अधिवेशनको सञ्चालन शिक्षा शाखाका उपप्रमुख भिम दोङले गर्नुभएको थियो भने अतिथिमा प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङ (सेवक) रहनुभएको थियो।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।