धुलिखेल- काभ्रेपलाञ्चोक जिल्लाका सबै १३ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आफ्नो बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। असार १० गतेभित्र स्थानीय तहहरूले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार जिल्लाका सबै पालिकाले आ-आफ्नो सभामा बजेट प्रस्तुत गरेका हुन्।
सार्वजनिक बजेट अनुसार यस वर्ष पनि जिल्लाका पालिकाहरूको बजेटको आकारमा भिन्नता देखिएको छ। यसपटक पनौती नगरपालिकाले सबैभन्दा ठूलो आकारको बजेट ल्याएको छ भने खानीखोला गाउँपालिकाको बजेट सबैभन्दा सानो रहेको छ।
जिल्लाका स्थानीय तहहरूमध्ये सबैभन्दा बढी बजेट पनौती नगरपालिकाले सार्वजनिक गरेको छ। नगरपालिकाले आगामी वर्षका लागि १ अर्ब ९६ करोड ९५ लाख ७५ हजार रुपैयाँको बजेट ल्याएको छ।
त्यसैगरी जिल्लामा सबैभन्दा कम बजेट खानीखोला गाउँपालिकाले सार्वजनिक गरेको छ। गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ५० करोड ५ लाख ५५ हजार रुपैयाँ गाउँसभामा पेस गरेको छ।
नगरपालिकाहरू तर्फ मण्डनदेउपुर नगरपालिकाले १ अर्ब ३१ करोड ६५ लाख रुपैयाँ, धुलिखेल नगरपालिकाले १ अर्ब २३ करोड २६ लाख ५४ हजार रुपैयाँ र बनेपा नगरपालिकाले १ अर्ब २१ करोड ३ लाख ४६ हजार ३८५ रुपैयाँको बजेट सार्वजनिक गरेका छन्।
यस्तै, पाँचखाल नगरपालिकाले ९६ करोड ६१ लाख ९० हजार रुपैयाँ र नमोबुद्ध नगरपालिकाले ९१ करोड ३६ लाख ४३ हजार ९१८ रुपैयाँको बजेट ल्याएका छन्।
गाउँपालिकाहरू तर्फ रोशी गाउँपालिकाले ७२ करोड ९९ लाख ४२ हजार रुपैयाँ, महाभारत गाउँपालिकाले ६६ करोड ८९ लाख रुपैयाँ र बेथानचोक गाउँपालिकाले ६४ करोड ३५ लाख ६९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका छन्।
त्यसैगरी भुम्लु गाउँपालिकाले ६१ करोड २९ लाख १६ हजार ५९८ रुपैयाँ, चौँरीदेउराली गाउँपालिकाले ५६ करोड ७३ लाख ८२ हजार १८० रुपैयाँ र तेमाल गाउँपालिकाले ५३ करोड २७ लाख ९९ हजार रुपैयाँको बजेट ल्याएका छन्।
आगामी आर्थिक वर्षका लागि सार्वजनिक बजेटले स्थानीय तहहरूको विकास प्राथमिकता, राजस्व क्षमता र संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदानको अवस्थालाई प्रतिबिम्बित गरेको छ। अधिकांश स्थानीय तहले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारी प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राखेका छन्।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।

















