धुलिखेल- काभ्रेपलाञ्चोको धुलिखेल नगरपालिकाको नगर सभाको १९औँ अधिवेशन (आर्थिक वर्ष २०८३/८४ को बजेट अधिवेशन) विभिन्न महत्त्वपूर्ण निर्णयहरू गर्दै सफलतापूर्वक सम्पन्न भएको छ। धुलिखेल नगर सभाहलमा आयोजित उक्त अधिवेशनले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेटलाई सर्वसम्मत रूपमा पारित गरेको हो।
नगर सभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल रु. १ अर्ब २३ करोड २६ लाख ५४ हजार ५ सय बराबरको बजेट समावेश भएको ‘विनियोजन विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ। यो बजेटले नगरको समग्र विकास, पूर्वाधार निर्माण र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेको जनाइएको छ।
महत्त्वपूर्ण विधेयक र कार्यविधिहरू अनुमोदन
१९औँ अधिवेशनले बजेटका अतिरिक्त नगरपालिकाको आगामी कार्यदिशा तय गर्ने विभिन्न प्रतिवेदन, विधेयक र कार्यविधिहरू समेत पारित गरेको छ। सभाबाट धुलिखेल नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम २०८३ र आर्थिक विधेयक २०८३, धुलिखेल नगरपालिकाको स्थिति समीक्षा २०८२/०८३ र न्यायिक समितिको वार्षिक प्रतिवेदन, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८३, ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजतपत्र वितरण सम्बन्धी कार्यविधि, २०७५ को दोस्रो संशोधन २०८३ सर्वसम्मत रुपमा पारित गरेको छ ।
यसका साथै विभिन्न विषयगत समितिहरूद्वारा गरिएका निर्णयहरू तथा नगर सभाबाट अनुमोदन हुनुपर्ने विविध नीतिगत निर्णयहरूलाई पनि सभाले सर्वसम्मत रूपमा पारित गरेको छ।
समृद्ध धुलिखेल निर्माणको प्रतिबद्धता
सुशासन, दिगो विकास, र सार्वजनिक सेवा प्रवाहको प्रभावकारितालाई मुख्य मर्म आत्मसात गर्दै यस पटकको नगर सभा सम्पन्न भएको छ। “समृद्ध धुलिखेल” निर्माणको साझा प्रतिबद्धतासहित नगर सभाका सम्पूर्ण सदस्यहरूको उत्साहजनक सहभागितामा १९औँ अधिवेशन सफलतापूर्वक समापन भएको नगरपालिकाले जनाएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।

















