बेथानचोक- काभ्रेपलाञ्चोक जिल्लको बेथानचोक गाउँपालिका–१ मा सार्वजनिक सरोकारका योजनाहरू कार्यान्वयन गर्दा पक्षपात भएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन्। सार्वजनिक स्थलमा जडान गरिनुपर्ने सौर्य ऊर्जा बत्ती निजी व्यक्तिको घर पछाडि राखिएको आरोप स्थानीयको छ।
स्थानीयका अनुसार गाउँपालिकाको गत आर्थिक वर्षको बजेटबाट विद्यालय, मठमन्दिर, मसानघाट लगायत सार्वजनिक स्थानलाई लक्षित गरी जडान गरिनुपर्ने सौर्य बत्ती निजी स्थानमा राखिएको भन्दै यसबारे छानबिन र आवश्यक सुधारको माग गरिएको छ। त्यस्तै, २०८१ साल असोज १० र ११ गतेको अविरल वर्षाका कारण खानेपानीका संरचना क्षतिग्रस्त भएका वास्तविक पीडितले पर्याप्त राहत नपाएको, जबकि क्षति नभएका केही परिवारले समेत खानेपानीका पाइप प्राप्त गरेको आरोप स्थानीयको गुनासो छ।
केही घरमा दुई वा तीनवटा खानेपानी लाइन जडान भएको दाबी पनि गरिएको छ। स्थानीयले सडक निर्माण, खानेपानी वितरण तथा अन्य विकास योजनामा समेत समानुपातिक र पारदर्शी ढंगले काम नभएको गुनासो गरेका छन्। उनीहरूका अनुसार स्थानीय तहले निष्पक्ष रूपमा काम नगर्दा समुदायमा असन्तुष्टि र आपसी वैमनस्य बढ्न थालेको छ। यता, वडाध्यक्ष मधुसुदन तिमल्सिनाको धारणा भने प्राप्त हुन सकेको छैन।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।


















