बनेपा- काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका आर्थिक अनुशासन र वित्तीय पारदर्शितामा देशकै उदाहरणीय स्थानीय तह बन्न सफल भएको छ । महालेखापरीक्षकको कार्यालयको ६८ औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा महाभारत गाउँपालिकालाई आर्थिक वर्ष २०८१/८२ को पनि लेखापरीक्षणमा ‘शून्य बेरुजु’ कायम गरेको भन्दै प्रशंसा-पत्रद्वारा सम्मानित गरिएको छ।

आर्थिक अनुशासन र वित्तीय उत्तरदायित्व प्रवर्द्धन एवं पारदर्शिता कायम गराउन गाउँपालिकाले उल्लेखनीय योगदान पुर्‍याएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ।

यो सफलतासँगै महाभारत गाउँपालिका आर्थिक वर्ष २०८१/८२ सम्म आइपुग्दा लगातार ३ पटकसम्म शून्य बेरुजु हुने देशकै एकमात्र स्थानीय सरकार बन्न सफल भएको छ।

गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले यस ऐतिहासिक उपलब्धिका लागि सम्पूर्ण महाभारतवासीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गरेदृ अध्यक्ष जिम्बाले भने: “आम नागरिकको साथ, सहयोग, सहभागिता, अमूल्य सुझाव र रचनात्मक आलोचनाका कारण नै यो सफलता सम्भव भएको हो। जनप्रतिनिधिहरू, कर्मचारीहरूको अनवरत मेहनत र सम्पूर्ण सरोकारवालाहरूको साझा सहयोगले महाभारत गाउँपालिकाले यो उचाइ हासिल गर्न सकेको हो। सहयोगी सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।”

दुर्गम भुगोल र सिमित स्रोतसाधनका बावजुद पनि वित्तीय सुशासन र जवाफदेहितामा महाभारत गाउँपालिकाले देखाएको यो बाटो अन्य स्थानीय तहहरूका लागि समेत अनुकरणीय र प्रेरणादायी बनेको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।