धुलिखेल- काठमाडौं विश्वविद्यालय, स्कूल अफ एजुकेसन (शिक्षा संकाय) अन्तर्गतको भाषा शिक्षण विभागले तामाङ भाषा शिक्षणमा एक-वर्षे उत्तर-स्नातक तह (PGDE-TLT) कार्यक्रमका लागि नयाँ विद्यार्थी भर्ना खुला गरेको छ। ललितपुरको हात्तिवनस्थित कलेज परिसरबाट सञ्चालन हुने यस विधाको मुख्य उद्देश्य तामाङ इतिहास, संस्कार, संस्कृति, भाषा र तामयीग लिपिको जिज्ञासा पुनरुत्थानका लागि विज्ञ (दोप्ता) र शिक्षक (लोप्पेन) तयार गर्नु रहेको छ।
विश्वविद्यालयका अनुसार यस कार्यक्रमले बहुभाषिक तथा आदिवासी भाषामा रहेको ज्ञान प्रणालीमा आधारित शिक्षालाई जगेर्ना र बढावा दिनुका साथै विद्यार्थीहरूलाई प्राज्ञिक लेखन तथा अनुसन्धानका माध्यमबाट तामाङ भाषाको संरक्षण र विकासका क्षेत्रमा पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गर्ने उच्च शिक्षण सीप प्रदान गर्नेछ। यसका साथै समुदायको संलग्नतामा भाषिक, सांस्कृतिक र पुरातत्त्विक आदि विषयहरूको अध्यापनले भौतिक तथा अभौतिक सांस्कृतिक सम्पदाहरूको पहिचान, महत्त्व, संरक्षण र संवर्द्धनलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।
कुल २७ क्रेडिट आवर्सको यो पाठ्यक्रम मिश्रित शिक्षण विधि अर्थात् ‘ब्लेंडेड मोड अफ टिचिङ’ को माध्यमबाट दुई सेमेस्टरमा अध्यापन गराइनेछ, जसमा पूरक भाषा कोर्सको समेत व्यवस्था गरिएको छ । दुई सेमेस्टरको पाठ्यक्रमको ढाँचा अन्तर्गत आदिवासी ज्ञान र डिकोलोनियल दृष्टिकोण समेटिएको तीन क्रेडिटको शिक्षाको दर्शन र अभ्यास विषय अनिवार्य कोर्सको रूपमा रहनेछ। त्यस्तै, तामाङ भाषामा विशिष्टीकरणका लागि १८ क्रेडिट छुट्ट्याइएको छ, जसभित्र तामाङ भाषा शिक्षण विधि, ध्वनि विज्ञान, वर्ण विज्ञान, लेखिमभाषा विज्ञान, रूप विज्ञान, वाक्य तथा अर्थ विज्ञान समेटिएको तामाङ व्याकरण, सञ्चारात्मक तामाङ भाषा, तामाङ भाषिक पुरातत्व, विद्यालय तहको पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणसम्बन्धी मूल्याङ्कन तथा तामाङ भाषा र संस्कृति जस्ता विषयहरू रहेका छन्। यसबाहेक विद्यार्थीहरूले ३ क्रेडिटको अनुवादसम्बन्धी ऐच्छिक प्रयोगात्मक कोर्स र थप ३ क्रेडिटको प्रयोगात्मक कार्य वा शिक्षण अभ्यास (प्र्याक्टिकम) पूरा गर्नुपर्ने हुन्छ।
यो विधा अध्ययन गर्न चाहने इच्छुक विद्यार्थीहरूका लागि निश्चित योग्यता निर्धारण गरिएको छ, जसअनुसार आवेदकले मान्यता प्राप्त विश्वविद्यालयबाट कुनै पनि संकायमा कम्तीमा २.० सीजीपीए (CGPA) वा सो सरहको अंक ल्याएर स्नातक (Bachelor’s Degree) तह उत्तीर्ण गरेको हुनुपर्नेछ।
भर्ना प्रक्रियाका लागि विश्वविद्यालयले महत्त्वपूर्ण मितिहरू समेत सार्वजनिक गरेको छ। आवेदन फारम बुझाउने अन्तिम मिति सन् २०२६ को जुन २५ तारिखसम्म तोकिएको छ भने लिखित प्रवेश परीक्षा जुन २५ देखि जुन ३० तारिखसम्म सञ्चालन हुनेछ। यसैगरी, अन्तर्वार्ता जुलाई १ देखि जुलाई ७ तारिखसम्म हुनेछ र प्रवेश परीक्षाको अन्तिम नतिजा जुलाई ८ तारिखमा प्रकाशन गरिनेछ। परीक्षा उत्तीर्ण भई छनोट भएका विद्यार्थीहरूको भर्ना अवधि जुलाई १ देखि जुलाई २५ सम्म रहनेछ र नयाँ सेमेस्टरको पढाइ अगस्ट ७, २०२६ देखि विधिवत् रूपमा सुरु हुनेछ।
भर्ना तथा शुल्कसम्बन्धी विस्तृत जानकारीका लागि इच्छुक आवेदकहरूले विश्वविद्यालयको आधिकारिक भर्ना लिङ्क https://emis.kusoed.edu.np/ मा गएर हेर्न सक्नेछन्। साथै थप जानकारीका लागि भाषा शिक्षण विभागका प्रमुख डा. टीकाराम पौडेललाई मोवाइल नम्बर ९८४३७५६८५१ वा इमेल tikaram.poudel@kusoed.edu.np मा र कार्यक्रमका फोकल पर्सन श्री अजितमान तामाङलाई मोवाइल नम्बर ९८५११६१३३३ वा इमेल ajitman.tamang@kusoed.edu.np मा सिधै सम्पर्क गर्न सकिने विश्वविद्यालयले जनाएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















