धुलिखले- काभ्रे जिल्लाको बनेपामा सर्वसाधारणलाई फ्रुटी जुसमा नसालु पदार्थ खुवाई बेहोस बनाएर गरगहना र नगद लुट्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाले लुटपाटमा प्रत्यक्ष संलग्न दुई जना र उनीहरूबाट चोरीको सुन खरिद गर्ने एक जना सुन पसल सञ्चालक गरी तीन जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ का ५३ वर्षीय केदार श्रेष्ठ र बुद्धकुमार श्रेष्ठ रहेका छन् । यस्तै, उनीहरूबाट चोरीको सुन खरिद गर्ने भक्तपुरको मध्यपुरथिमि–४ स्थित ‘जय शिव शक्ति ज्वेलर्स’का सञ्चालक नवराज घिमिरे (विक) लाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार गत असार १ गते दिउँसो करिब ३:४० बजे बनेपा नगरपालिका–५, रविओपी बसपार्क अगाडि धुलिखेल–१ निवासी ५२ वर्षीया निरकुमारी घोरासाइने बेहोस अवस्थामा फेला परेकी थिइन् । स्थानीयले उद्धार गरी उनलाई शिर मेमोरियल अस्पताल पुर्‍याएपछि घटनाबारे प्रहरीले अनुसन्धान थालेको थियो ।

पीडित महिलाका अनुसार आरोपीहरूले उनलाई ‘बैंक देखाइदिने’ बहानामा फकाएका थिए । अत्यधिक गर्मी भएको भन्दै उनीहरूले महिलालाई नसालु पदार्थ मिसाइएको फ्रुटी पिउन दिएका थिए । फ्रुटी पिएलगत्तै महिला बेहोस भएपछि उनीहरूले लगाएको सुनका गरगहना, नगद र मोबाइल लुटेर फरार भएका थिए ।

घटनास्थल वरपर जडान गरिएका सीसीटीभी फुटेजको विश्लेषण गर्दा दुई जना पुरुषले योजनाबद्ध रूपमा महिलालाई झुक्याएको र बा ९१ प ६७५३ नम्बरको २२० सीसीको रातो–कालो पल्सर मोटरसाइकल प्रयोग गरी फरार भएको देखिएको थियो ।

यसकै आधारमा प्रहरीले असार ७ गते बुद्धकुमार श्रेष्ठलाई चोरीमा प्रयोग भएको मोटरसाइकलसहित बनेपा–८ बाट पक्राउ गर्‍यो । पीडित महिलाले बुद्धकुमारको पहिचान (सनाखत) गरेपछि उनको बयानका आधारमा अर्का आरोपी केदार श्रेष्ठलाई असार ११ गते भक्तपुरबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका दुई जनाको बयानका क्रममा लुटिएको सुन भक्तपुरको मध्यपुरथिमीस्थित जय शिव शक्ति ज्वेलर्समा बिक्री गरिएको खुलेको थियो । प्रहरीले उक्त पसलमा खानतलासी गर्दा गालिएको अवस्थामा चोरीको सुन फेला पारेपछि पसल सञ्चालक नवराज घिमिरे (विक) लाई नियन्त्रणमा लिएको हो । प्रहरीले आरोपीहरूको साथबाट रु. २० हजार ५०० नगद तथा अन्य भौतिक प्रमाणहरूसमेत बरामद गरेको छ ।

प्रहरी अनुसन्धानबाट यो गिरोह विगत लामो समयदेखि देशका विभिन्न भागमा यस्तै प्रकृतिका अपराधमा संलग्न रहँदै आएको खुलेको छ । यसअघि उनीहरूले वि.सं. २०६५ सालमा पाल्पामा यस्तै प्रकृतिको घटनामा बुद्धकुमार श्रेष्ठ पक्राउ परी ५ वर्ष १ महिना १५ दिन कैद सजाय भुक्तान गरेर छुटेका थिए । सोही घटनामा केदार श्रेष्ठले भने अदालतबाट सफाइ पाएका थिए । त्यसैगरि वि.सं. २०७३ जेठ २८ (तनहुँ, बन्दीपुर)मा ७२ वर्षीया रेणुका देवी कामीलाई नसालु पदार्थ खुवाई सुनको औँठी लुटिएको र वि.सं. २०८३ वैशाख ७ (बनेपा–७) मा ६८ वर्षीय उदयनारायण तिमल्सिनालाई बैंक देखाइदिने बहानामा नसालु पदार्थ मिसाइएको पेय पदार्थ खुवाई रु. ७० हजार नगद र सुनको औँठी लुटिएको थियो । वि.सं. २०८३ जेठ ८ (तनहुँ, व्यास–१) मा ५५ वर्षीया श्रीमाया आलेलाई नसालु पदार्थ मिसाइएको खानेकुरा खुवाई सुनका रिङ र मुन्द्री लुटिएको थियो ।

यसै अनुसन्धानको कडी जोड्दै प्रहरीले धुलिखेल नगरपालिका–७ मा एक महिलाको घाँटीबाट सुनको सिक्री चोरी गर्ने कार्यमा संलग्न अन्य दुई जना अजय तामाङ र कमल बराइलीलाई समेत पक्राउ गरेको छ । उनीहरूले चोरी गरेको सुन समेत गालिएको अवस्थामा बरामद भएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।