तेमाल- काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ९ मा वडा स्तरीय शैक्षिक कार्यक्रम अन्तर्गत विद्यालयहरूलाई आधुनिक शैक्षिक सामग्री वितरण गरिएको छ। आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रम अनुसार आज (बिहीबार) वडा भित्रका तीनवटा विद्यालयलाई स्मार्ट बोर्ड र कलर प्रिन्टर हस्तान्तरण गरिएको हो ।
वडा अध्यक्ष चन्द्रबहादुर लामा र वडा सचिव मिरा सिग्देल सहितको टोली स्वयं विद्यालयहरूमै पुगेर उक्त सामग्रीहरू वितरण गरेका थिए । सो अवसरमा श्री कुशेश्वर माध्यमिक विद्यालयलाई दुई थान स्मार्ट बोर्ड, श्री मैनाजाङ आधारभूत विद्यालयलाई दुई थान स्मार्ट बोर्ड र श्री बुद्धकिरण आधारभूत विद्यालय: एक थान कलर प्रिन्टर वितरण गरिएको थियो ।
सामग्री वितरण गर्दै वडा अध्यक्ष चन्द्रबहादुर लामाले सामुदायिक विद्यालयहरूमा प्रविधिमैत्री कक्षाकोठा निर्माण गर्न र आधुनिक शिक्षण सिकाइ मार्फत शैक्षिक गुणस्तर कायम गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको बताए । प्रविधिको यो प्रयोगले विद्यार्थीहरूको सिकाइ र विद्यालयको प्रशासनिक काममा ठूलो सहयोग पुग्ने विश्वास वडाअध्यक्ष लामाले लिएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















