धुलिखेल- काठमाडौं विश्वविद्यालय (केयु)को ३१औं दीक्षान्त समारोह (दोस्रो चरण) असार १९ गते भव्य रूपमा सम्पन्न भएको छ। विश्वविद्यालयको काभ्रेस्थित मुख्य परिसरमा आयोजित समारोहमा विभिन्न संकायका कुल १ हजार ५ सय २७ जना विद्यार्थीलाई उपाधि प्रदान गरिएको छ।

यसपटक दीक्षित हुनेहरूमा स्नातकदेखि विद्यावारिधिसम्मका विद्यार्थी रहेका छन्। समारोहमा विद्यावारिधि (PhD/DM/MCh) तर्फ २१ जना, एमफिल तथा अनुसन्धानमूलक स्नातकोत्तरतर्फ ९३ जना, स्नातकोत्तरतर्फ २७९ जना, पीजीडीईतर्फ २ जना र स्नातक (बैचलर्स) तहका १ हजार १ सय ३२ जना विद्यार्थी रहेका छन्।  कुल दीक्षितमध्ये ८ सय जना पुरुष र ७ सय २७ जना महिला रहेका छन्।

सबैभन्दा धेरै स्कुल अफ मेडिकल साइन्सेजबाट ५ सय ४ जना विद्यार्थी दीक्षित भएका छन्। यस्तै, स्कुल अफ इन्जिनियरिङबाट ३ सय ५५, स्कुल अफ साइन्सबाट २ सय ७, स्कुल अफ आर्ट्सबाट १ सय ६१, स्कुल अफ म्यानेजमेन्टबाट १ सय ४६, स्कुल अफ एजुकेसनबाट १ सय १२ र स्कुल अफ लबाट ४२ जना विद्यार्थीले उपाधि प्राप्त गरेका छन्।

पहिलो पटक नयाँ विधामा उपाधि र विदेशी विद्यार्थीको आकर्षण

काठमाडौं विश्वविद्यालयले यसपटक पहिलो पटक तीनवटा नयाँ विधामा उपाधि प्रदान गरेको छ। जसमा Bachelor of Technology in Artificial Intelligence अन्तर्गत २६ जना, Doctor Medicinae in Neonatology अन्तर्गत ३ जना तथा Master of Science in Medical Biochemistry and Molecular Biology अन्तर्गत ४ जना विद्यार्थी दीक्षित भएका छन्।

समारोहमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको समेत उत्साहजनक सहभागिता रह्यो। अस्ट्रेलिया, बंगलादेश, चीन, भारत, श्रीलंका, बेलायत र अमेरिका गरी ७ देशका १ सय ७९ जना विदेशी विद्यार्थी दीक्षित भएका छन्, जुन कुल दीक्षित संख्याको ११.७२ प्रतिशत हो। यस चरणको दीक्षान्तसँगै काठमाडौं विश्वविद्यालयबाट हालसम्म उपाधि प्राप्त गर्ने विद्यार्थीको संख्या ५१ हजार ५ सय ६७ पुगेको छ, जसमा ६ हजार ३९ जना विदेशी विद्यार्थी छन्।

“भविष्यलाई लिएर धेरै चिन्तित नहुनुस्” : शिक्षामन्त्री पोखरेल

दीक्षान्त समारोह शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो। समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले दीक्षित विद्यार्थीहरूलाई आफ्नो भविष्यलाई लिएर धेरै चिन्तित नहुन ढाडस दिए।

आफ्नो व्यक्तिगत अनुभव बाँड्दै उनले भने, “म पनि यही विश्वविद्यालयबाट चार वर्ष अघि मात्र दीक्षित भएको हूँ। मलाई थाहा थिएन आज म यहाँ पुग्छु भनेर। कसैले छिटै सफलता पाउन सक्नुहुन्छ, कसैलाई समय लाग्न सक्छ।”

उनले विश्वविद्यालयमा सिकेको ज्ञान र सीपलाई समाज रूपान्तरणको महाअभियानमा प्रयोग गर्नसमेत विद्यार्थीहरूलाई आग्रह गरे।

भिसा नीति अन्तर्राष्ट्रिय विद्यार्थीका लागि चुनौती: उपकुलपति वाग्ले

विश्वविद्यालयका उपकुलपति प्रा. डा. ऋषीकेश वाग्लेले आफ्नै पूर्व विद्यार्थीलाई शिक्षामन्त्री तथा सहकुलपतिको रूपमा विश्वविद्यालयमा स्वागत गर्न पाउँदा गर्व लागेको बताए। नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य बनाउने सपनामा भिसा प्रक्रिया मुख्य तगारो बनेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।

उपकुलपति वाग्लेले भने, “अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि हाम्रा भिसा नीतिहरू अझै पनि पर्याप्त सहज र स्वागतयोग्य हुन सकेका छैनन्। यस सवालमा सरकारले यथोचित नीतिगत सहयोग गर्नुपर्छ।”

“तपाईंहरू नेपालको भविष्यको हिस्सा हो” : प्रमुख अतिथि प्रा. डा. पटवर्धन

समारोहमा भारतस्थित डेक्कन कलेज पोस्ट ग्राजुएट एन्ड रिसर्च इन्स्टिच्युटका कुलपति प्रा. डा. भूषण पटवर्धन प्रमुख अतिथिका रूपमा सहभागी थिए। दीक्षान्त सम्बोधन गर्दै प्राध्यापक पटवर्धनले दीक्षित विद्यार्थीहरू नेपालको भविष्यको हिस्सा भएको उल्लेख गरे। विद्यार्थीहरू भोलि जुनसुकै क्षेत्रमा प्रवेश गरे पनि नेपालको मौलिक ज्ञानको सम्पदा र काठमाडौं विश्वविद्यालयले दिएको उत्कृष्ट प्रशिक्षणलाई सधैं साथमा लैजाने विश्वास उनले व्यक्त गरे।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।