खानीखोला- काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका वडा नं. ३ मा एकल पुरुष र निसन्तान दम्पति लक्षित एक विशेष कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा समाजमा रहेका एकल पुरुष र निसन्तान दम्पतीहरूलाई हौसला, सम्मान र सामाजिक सुरक्षाको अनूभूति गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
वडाध्यक्ष सागर लामाको प्रमुख आतिथ्यतामा वडा कार्यालयको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा वडाभित्रका ५ जोडी निसन्तान दम्पति र ८ जना एकल पुरुषलाई विशेष सम्मान गरिएको थियो । सम्मान स्वरूप उनीहरूलाई दैनिक जीवनमा उपयोगी हुने ब्लाङ्केट, थर्मस र चियादानी लगायतका सामाग्रीहरु वितरण गरिएको थियो।
वितरण कार्यक्रममा वडाध्यक्ष लामाले समाजमा एकल पुरुष र निसन्तान दम्पतीहरूले भोग्नुपर्ने सामाजिक तथा मानसिक तनाव कम गर्न वडा सरकार सधैँ अभिभावक बनेर उभिने प्रतिबद्धता जनाए । “समाजमा उहाँहरू अपहेलित हुन नपरोस् र उहाँहरूको सुख-दुःखमा वडा सरकार साथमै छ भन्ने आभास गराउन यो कार्यक्रम गरिएको हो, तपाईंहरू एक्लो हुनुहुन्न वडा सरकार तपाईहरुको साथमा छ । वडाध्यक्ष लामाले भने, “तपाईंहरूको अब उमेर ढल्किँदै गएको छ, त्यसैले भजनकीर्तन गर्ने, डम्फु बजाउने र हाम्रा परम्परागत ह्रीमठिमका गीतहरू गाउने गरेर दोस्रो पुस्तालाई पनि यो संस्कृति सिकाउनुहोस् र जीवन्त राख्नुहोस् ।”
कार्यक्रममा स्थानीय समाजसेवी तथा नेता कर्ण सापकोटाले वडाध्यक्ष सागर लामाको नवीन कार्यशैलीको उच्च प्रशंसा गर्दै वडाध्यक्ष लामा निकै दूरदर्शी (भिजन भएको) र जनताको सुख-दुःखमा निकै नजिक रहेर काम गर्ने जनप्रतिनिधि भएको बताए ।
उक्त विशेष कार्यक्रमको सञ्चालन वडा सचिव गोकुल सुनारले गरेका थिए भने स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, भद्रभलाद्मी र स्थानीय बासिन्दाहरूको बाक्लो उपस्थिति रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















