नमोबुद्ध- काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका क्षेत्रमा खाद्य सुरक्षालाई प्रभावकारी बनाउन संयुक्त बजार अनुगमन टोलीले होटल, रेष्टुरेन्ट तथा मासु पसलहरूको आकस्मिक अनुगमन गरेको छ । उद्योग वाणिज्य कार्यालयका प्रमुख रविन घिमिरेको नेतृत्वमा भएको उक्त अनुगमनमा खाद्य प्रविधि, जिल्ला प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तहका प्रतिनिधि र सञ्चारकर्मीहरूको सहभागिता थियो ।

हालै भकुण्डेबेशीस्थित रोयल मःम एण्ड नेवारी खाजा घरमा चाउमिन खाएका ५ जना बिरामी परेपछि प्रहरीले उक्त होटल शिल गरेको थियो । सोही घटनालाई गम्भीरतापूर्वक लिँदै टोलीले ७ वटा व्यवसायको अनुगमन गर्दा व्यापक लापरवाही भेटिएपछि कुल ७५ हजार रुपैयाँ जरिवाना गर्नुका साथै ५,७५५ रुपैयाँ बराबरको म्याद गुज्रेका सामग्री नष्ट गरेको छ ।

रुविन कुमार ठकुरी सञ्चालक रहेको रोयल मःम एण्ड नेवारी खाजा घर विगत डेढ वर्षदेखि दर्ता विना सञ्चालन गरेको, भान्सामा झिँगा-साङ्ला भेटिएको र चरम फोहोर पाइएकाले २५ हजार रुपैयाँ जरिवाना सहित दर्ता गरेर मात्र चलाउन निर्देशन दिइएको छ । त्यसैगरि नेवारी खाजा एण्ड भान्छा घरमा कामदारले हेयरनेट नलगाएको, फोहोर उपकरण प्रयोग गरेको र म्याद नाघेका सामान राखेकाले २५ हजार रुपैयाँ जरिवाना गरिएको छ भने उत्सव चिकेन हाउसले  मासु बिक्रीको अनुमति लिएर होटल समेत चलाएको, तापक्रम नमिलाएको र म्याद सकिएका पेय पदार्थ राखेकाले १५ हजार रुपैयाँ रुपैयाँ जरिवाना गरिएको छ । यसैबीच  लोटस बेकरी एण्ड सप्लाइ र माता चण्डेश्वरी मिठाई पसलले  बिल प्रयोग नगरेको, म्याद नाघेको रङ्ग प्रयोग गरेको, खुला खाद्य वस्तु र फोहोर पानी ट्याङ्की राखेकाले दुवैलाई ५/५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

यसैबीच खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख मनिषा चापागाईंले बिरामी परेको घटनाको वास्तविक कारण पत्ता लगाउन सम्बन्धित खाद्य पदार्थको नमूना सङ्कलन गरी प्रयोगशाला पठाइएको बताउँदै रिपोर्ट आएपछि थप कानूनी प्रक्रिया अघि बढाइनेछ जानकारी दिए ।

टोली प्रमुख रविन घिमिरेले उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्नेलाई छुट नहुने र यो अनुगमन निरन्तर रहने बताए  । टोलीले व्यवसायीहरूलाई कानुनी मापदण्ड पालना गर्न निर्देशन दिँदै उपभोक्ताहरूलाई समेत सचेत रहन आग्रह गरेको छ । नियमित अनुगमनको यस कदमलाई स्थानीयवासीले स्वागत गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।