भक्तपुर- काभ्रेपलाञ्चोक जिल्लाका नागरिकहरूले भक्तपुर मोडेल हस्पिटल प्रा. लि. मा उपचार गराउँदा विशेष सहुलियत पाउने भएका छन्। हस्पिटलमा उपचारका लागि आउने काभ्रेली बिरामीहरूलाई उपचार खर्चमा ३० प्रतिशत (तीस प्रतिशत) छुट दिने सम्बन्धमा दुई पक्षबीच द्विपक्षीय सम्झौता भएको हो।

सम्झौता पत्रमा भक्तपुर मोडेल हस्पिटलका सञ्चालक भुवन श्रेष्ठ (प्रथम पक्ष) र पूर्व मन्त्री सूर्यमान दोङ (दोस्रो पक्ष) ले असार २४ गते हस्ताक्षर गर्नुभएको छ।

के छ सम्झौतामा ?

१. पूर्व मन्त्री सूर्यमान दोङमार्फत सिफारिस भई आउने काभ्रेपलाञ्चोक जिल्लाका बासिन्दाहरूले भक्तपुर मोडेल हस्पिटलमा उपचार सेवा लिँदा कुल उपचार खर्चमा ३० प्रतिशत छुट पाउनेछन्।

२. यो सहुलियत प्राप्त गर्नका लागि बिरामीले आफ्नो ठेगाना खुल्ने परिचयपत्र, नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि साथमा ल्याउनुपर्नेछ। साथै, १६ वर्ष मुनिका बालबालिकाको हकमा जन्मदर्ताको प्रतिलिपि अनिवार्य गरिएको छ।

३. यो सम्झौता लागू भएको मितिबाट ३ वर्षको लागि कायम रहनेछ। आवश्यक परेको खण्डमा दुवै पक्षको आपसी सहमतिमा सम्झौताको अवधि थपघट गर्न सकिने प्रावधान राखिएको छ।

काभ्रेली जनताको स्वास्थ्योपचारमा सहजता र आर्थिक राहत पुर्‍याउने उद्देश्यले यो जनपक्षीय सम्झौता गरिएको हस्ताक्षरकर्ताहरूले जनाएका छन्। दुवै पक्षले सम्झौतामा उल्लेखित सर्तहरू पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।