बनेपा । नेपाल परिवार नियोजन संघ काभ्रे शाखाको ४४ औँ शाखा सभा सभापति प्रकाश कायष्ठको अध्यक्षता तथा बागमती प्रदेश सरकारका मन्त्री कञ्चनचन्द्र बादेको प्रमुख आतिथ्यतामा आइतबार संघको सभाहलमा सम्पन्न भएको छ । संघले आगामी तीन वर्षे कार्यकालका लागि ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको सभापतिमा पुनम जोशी निर्विरोध चयन भएकी छन् । त्यसैगरी कोषाध्यक्षमा विकास बैद्य चयन भएका छन् ।
महिला सदस्यमा अंगना बैद्य श्रेष्ठ र रजनी बैद्य, विज्ञ सदस्यमा अनु श्रेष्ठ, रुपा कर्माचार्य प्रधान, ओमकाजी प्रजापती र निराकार श्रेष्ठ तथा युवा सदस्यमा न्हुज प्रजापती, रिजा शिल्पकार र रितु श्रेष्ठ निर्विरोध चयन भएका छन् । महिला सभापति पदमा निर्वाचित भएको संघको इतिहासमा पहिलो हो ।
नेपाल परिवार नियोजन संघ काभ्रे शाखाका कार्यालय प्रमुख रमेश श्रेष्ठका अनुसार शाखा सभाले संघको वार्षिक कार्यक्रम, चालु आर्थिक वर्षमा सञ्चालन भएका गतिविधि तथा भावी कार्ययोजनाबारे समीक्षा र छलफल सहित पास गरेको छ ।

कार्यक्रममा शाखा सभापति प्रकाश कायश्ठले आफ्नो कार्यकालमा भएका शाखाका गतिविधिहरु तथा परिवार नियोजन संघको अवस्था र सामाजिक गतिविधिहरुका बारेमा जानकारी गराएका थिए । शाखाका पुर्व सभापति एवं नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष सुरकृष्ण बैद्य, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले परिवार नियोजन संघको आवश्यकता र औचित्यता बारेमा धारणा राखेका थिए ।
सभामा विशेषज्ञ सदस्य विकास बैद्यले बार्षिक तथा प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष पुनम जोशीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । शाखा प्रवन्धक रमेश श्रेष्ठले संचालन गरेको कार्यक्रममा संस्थाले बार्षिक रुपमा ४६ लाख २७ हजार ८ सय १२ रुपैयाको कारोवार गरेको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । विशेषगरी सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन सेवा, भिआईए सेवा, बन्ध्याकरण सेवा, गाईने जाँच सेवा, ल्याव सेवा लगायतका कार्यहरु भईरहेको सभामा जानकारी गराईएको थियो ।
परिवार नियोजन काभ्रे शाखाले सन् २०२५ मा यौन तथा प्रजनन स्वास्थ्य सेवाका विविध सेवा अन्र्तगत ४५ हजार ७ सय ४५ जनालाई प्रदान गरेको छ । २०२५ सालमा बनेपाको बुडोलमा सानो क्लिनिकबाट शुरु गरेर २०३१ सालमा शाखामा रुपान्तरित परिवार नियोजन संघको शाखाहरुको स्थापनाकालको ३ वटा शाखा मध्ये एक शाखा थियो । कार्यक्रममा संघका पुर्व सभाभापतिहरु, पदाधिकारीहरु तथा आजिवन सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















