काभ्रेपलाञ्चोक, असार २९ — धुलिखेल नगरपालिका–९ मा निर्माण सम्पन्न भएको प्रस्तावित धुलिखेल नगर अस्पताललाई शीघ्र सञ्चालनमा ल्याउने उद्देश्यका साथ बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय किरण थापा मगरसहितको टोलीले सोमबार अस्पतालको स्थलगत निरीक्षण गरेको छ। निरीक्षणका क्रममा अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वाधार, सेवा प्रवाहको तयारी तथा व्यवस्थापनका विषयमा विस्तृत छलफल गरिएको हो।
निरीक्षण टोलीमा धुलिखेल नगरपालिकाका कार्यवाहक नगर प्रमुख निराजन जंगम, वडा नं. ९ का कार्यवाहक वडा अध्यक्ष बालकृष्ण गौतम,धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दीप के.सी., नगरपालिकाका कर्मचारी तथा सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

स्थलगत निरीक्षणका क्रममा अस्पताल सञ्चालनअघि पूरा गर्नुपर्ने भौतिक पूर्वाधार, आवश्यक स्वास्थ्य उपकरण, जनशक्ति व्यवस्थापन तथा नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने तयारीका विषयमा विशेष रूपमा समीक्षा गरिएको थियो। सहभागीहरूले अस्पताललाई छिटो सञ्चालनमा ल्याउन आवश्यक समन्वय, स्रोत व्यवस्थापन र कार्ययोजनालाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
धुलिखेल नगर अस्पताल सञ्चालनमा आएपछि नगरवासीले आफ्नै स्थानीय तहबाट सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ। यसले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता घटाउनुका साथै नगरको स्वास्थ्य सेवा प्रणालीलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ। निरीक्षण टोलीले अस्पताल सञ्चालनका बाँकी तयारीलाई तीव्रता दिई यथाशीघ्र सेवा सुरु गर्ने वातावरण निर्माण गर्न सम्बन्धित पक्षलाई आवश्यक निर्देशन तथा सुझावसमेत दिएको जनाएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।