पाँचखाल- काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाले दलित समुदायको दीर्घकालीन आर्थिक सशक्तीकरण र सामाजिक न्यायका लागि एक ऐतिहासिक एवं रूपान्तरणकारी कदमको घोषणा गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ देखि लागु हुने गरी स्थानीय तहकै इतिहासमा पहिलोपटक ‘दलित नवजात आर्थिक सुरक्षा कार्यक्रम’ सञ्चालनमा ल्याउने भएको हो ।

नगरपालिकाका प्रमुख (मेयर) महेश खरेलले सदियौँदेखि दलित समुदायले भोग्दै आएको विभेदप्रति नगरपालिकाको तर्फबाट सार्वजनिक रूपमा क्षमायाचना गर्दै विगतका सामाजिक अन्यायप्रति शून्य सहनशीलता (Zero Tolerance) को नीति अपनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यस ऐतिहासिक कार्यक्रम अन्तर्गत पाँचखाल नगरपालिकाभित्र जन्मने प्रत्येक दलित परिवारका नवजात शिशुको उज्यालो भविष्यका लागि नगरपालिकाले सोझै बैंक खातामा रु. १ लाख जम्मा गरिदिनेछ ।

नगरप्रमुख महेश खरेलका अनुसार शिशुको नाममा जम्मा गरिएको उक्त १ लाख रुपैयाँ १८ वर्षसम्म झिक्न पाइने छैन भने  १८ वर्ष पूरा भएपछि सो रकम चक्रवृद्धि ब्याज  सहित एकमुष्ट प्राप्त हुनेछ ।  प्राप्त हुने ठुलो रकम दलित युवाहरूको उच्च शिक्षा, व्यावसायिक सीप विकास वा करियर निर्माण (उद्यमशीलता) मा मात्र उपयोग गर्न सकिने बताउँदै नगरप्रमुख खरेलले यदि १८ वर्ष नपुग्दै शिशुको दुर्भाग्यवश मृत्यु भएमा, उक्त रकम सुरक्षित रूपमा उनकी आमालाई उपलब्ध गराइने कानुनी व्यवस्था गरिएको जानकारी दिए ।

प्रचारका लागि होइन, दिगो सशक्तीकरणका लागि: मेयर खरेल

कार्यक्रमको घोषणा गर्दै नगरप्रमुख महेश खरेलले यो कदम कुनै राजनीतिक प्रचार वा सस्तो लोकप्रियताका लागि नभएको प्रष्ट पार्नुभएको छ । “यो कार्यक्रम प्रचारका लागि होइन, दलित समुदायको दीर्घकालीन आर्थिक सशक्तीकरण एवं गरिबीका कारण उत्पन्न हुने चरम निराशा र सामाजिक असमानताको अन्त्य गर्ने पवित्र उद्देश्यले ल्याइएको हो ।मेयर खरेलले भने ।

स्थानीय सरकारले सामाजिक न्याय र आर्थिक समानतालाई सँगसँगै अगाडि बढाउन चालेको यो कदमको यतिबेला जिल्लाभर र समग्र स्थानीय तहहरूमा निकै सकारात्मक चर्चा र प्रशंसा भइरहेको छ । यस कार्यक्रमले लक्षित वर्गको आर्थिक स्तर उकास्न र गरिबीको दुष्चक्र तोड्न कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।