तेमाल- काभ्रेपलाञ्चोक जिल्ला तेमाल गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालयले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूलाई भत्ता नवीकरण गर्नका लागि एक जरुरी सूचना जारी गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र राज गुरुङद्वारा हस्ताक्षरित सूचना अनुसार Biometric (बायोमेट्रिक) गरिसकेका लाभग्राहीहरूले आगामी २०८३ साल साउन १ गतेदेखि असोज मसान्तसम्ममा आ-आफ्नो वडा कार्यालय वा अस्थायी बसोबास रहेको वडा कार्यालयमा आफैँ उपस्थित भई नवीकरणका लागि निवेदन दिनुपर्नेछ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०८४ को दफा ७ को उपदफा १ बमोजिम तोकिएको म्यादभित्र नवीकरण नगराउने लाभग्राहीहरूको लागत कट्टा गरिने ब्यहोरा समेत गाउँपालिकाले स्पष्ट पारेको छ।

भत्ता नवीकरणका लागि लाभग्राहीहरूले आवश्यक कागजातहरू सहित उपस्थित हुनुपर्नेछ। जसअन्तर्गत नागरिकता प्रमाणपत्रको छायाँकपी, सामाजिक सुरक्षा भत्ता कार्ड, निवेदकको दुई प्रति पासपोर्ट साइजको फोटो र राष्ट्रिय परिचयपत्रको छायाँकपी अनिवार्य गरिएको छ। यसका साथै लाभग्राहीको बैंक खाता नम्बर पनि आवश्यक पर्नेछ। फरक-फरक लक्षित वर्गका लागि थप विशिष्ट कागजातहरू पनि तोकिएका छन्, जसमा अपाङ्गता भएका व्यक्तिको हकमा अपाङ्गता परिचयपत्रको छायाँकपी, ६० वर्ष मुनिका विधवा एकल महिला र ६० वर्ष माथिका अविवाहित जेष्ठ एकल महिलाको हकमा सम्बन्धित वडा कार्यालयको सिफारिस, तथा विधवा एकल महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाणपत्रको छायाँकपी बुझाउनुपर्नेछ। त्यस्तै, दलित तथा १६ वर्ष मुनिका बालबालिकाको हकमा जन्म दर्ता र संरक्षकको नागरिकता प्रमाणपत्रको छायाँकपी आवश्यक पर्ने सूचनामा उल्लेख छ।

राष्ट्रिय परिचयपत्रको अनिवार्यताका सन्दर्भमा गाउँपालिकाले विशेष छुटको व्यवस्था पनि गरेको छ। सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०८४ को दफा ५ बमोजिम १६ वर्ष पूरा नभएका बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने अशक्त र ९० वर्ष माथिका जेष्ठ नागरिकहरूका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने गाउँपालिकाले जनाएको छ। यस सम्बन्धी थप विस्तृत जानकारी आवश्यक परेमा तेमाल गाउँपालिकाको सामाजिक सुरक्षा शाखा वा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।