काठमाडौं, साउन १ । तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालका अध्यक्ष डिल्लीमान तामाङ ले आफ्नो पदबाट राजीनामा दिएका छन्। उहाँले उपाध्यक्ष अविरल जिम्बा लाई सम्बोधन गर्दै मिति २०८३ असार ३१ गते राजीनामापत्र बुझाएका हुन्।
राजीनामापत्रमा तामाङले विभिन्न व्यक्तिगत तथा सांगठनिक कारणले मोर्चाको विधान २०८१ को भाग १२, धारा ३९ को उपधारा १० बमोजिम अध्यक्ष पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्। साथै आफ्नो राजीनामा स्वीकृत गरिदिन नेतृत्वसमक्ष अनुरोध गरेका छन्।
तामाङले मोर्चाको अध्यक्षको जिम्मेवारी प्रदान गरी विश्वास व्यक्त गरेकोमा सम्पूर्ण नेतृत्व तथा संगठनप्रति आभार व्यक्त गर्दै आफ्नो कार्यकालमा संगठनमार्फत धेरै अनुभव हासिल गरेको र सांगठनिक रूपमा अघि बढ्ने अवसर पाएको बताएका छन्। उनले पदाधिकारी, केन्द्रीय सदस्य तथा सम्पूर्ण कार्यकर्ताबाट प्राप्त सहयोग र मार्गदर्शन सदैव अविस्मरणीय रहने उल्लेख गरेका छन्।
राजीनामाको अन्त्यमा उनले तामाङ राष्ट्रिय मुक्ति मोर्चाको उज्ज्वल भविष्य, निरन्तर प्रगति तथा सम्पूर्ण नेता–कार्यकर्ताको सफलताको शुभकामना व्यक्त गर्दै संगठनले आगामी दिनमा अझ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।
अध्यक्ष डिल्लीमान तामाङको राजीनामापछि मोर्चाको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा भने संगठनले हालसम्म औपचारिक निर्णय सार्वजनिक गरेको छैन।





















