पाँचखाल- काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा खेतमा धान रोप्ने क्रममा करेन्ट लाग्दा एक वृद्धको मृत्यु भएको छ भने एक युवती घाइते भएकी छिन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पाँचखाल नगरपालिका वडा नम्बर १२ सेरा गाउँ बस्ने ६१ वर्षीय कान्छा दनुवारको करेन्ट लागेर मृत्यु भएको हो।
आफ्नै खेतमा धान रोपिरहेको अवस्थामा पानी तान्ने मेसिनको नाङ्गो तार पानीमा डुबेको र सोही तारबाट करेन्ट प्रवाह हुँदा दनुवार घाइते हुनुभएको थियो। दिउँसो अन्दाजी २:०० बजेको समयमा भएको उक्त दुर्घटना लगत्तै उहाँलाई उपचारका लागि अपरान्ह ४:०० बजे धुलिखेल अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याएर उपचार सुरु गरिएकै क्रममा चिकित्सकले अपरान्ह ४:३० बजे उहाँलाई मृत घोषणा गरेका थिए। घटना लगत्तै घटनास्थलको लास जाँच मुचुल्का तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी निरीक्षकको कमाण्डमा सोको (SOCO) सहितको टोली खटिएको प्रहरीले जनाएको छ ।
सोही घटनामा परी सोही स्थान बस्ने २६ वर्षीया अनु दनुवार समेत घाइते हुनुभएको छ। करेन्ट लागेर उनको दाहिने हातको बुढीऔंलामा चोट लागेको छ। घाइते अनुको अवस्था हाल सामान्य रहेको र धुलिखेल अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















