धुलिखेल- काभ्रे जिल्लाको पनौती नगरपालिकाले वडा नं. ७ मा बसोबास गर्दै आएका सुकुम्बासीहरूलाई बिना उपयुक्त विकल्प हटाउन १५ दिने सूचना जारी गरेपछि दुई कम्युनिष्ट पार्टीहरूले कडा आपत्ति जनाएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र नेपाल कम्युनिष्ट पार्टी (बहुमत) काभ्रेले काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मार्फत ध्यानाकर्षण गराउँदै असार २५ गते प्रकाशित उक्त सूचना ४८ घण्टाभित्र फिर्ता लिन माग गर्दै ज्ञापन पत्र बुझाएका छन्।

ज्ञापन पत्रमा वर्तमान संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने हक (धारा १६), नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रता (धारा १७ (ङ)), तथा आवासको हक (धारा ३७) लाई मौलिक हकको रूपमा व्यवस्था गरेको छ। नगरपालिकाको उक्त कदमले यी संवैधानिक अधिकारहरूको बेवास्ता गरेको, सूचनामा १५ दिनभित्र सो स्थान छाड्न भनिए पनि त्यहाँका नागरिकहरूलाई कहाँ स्थानान्तरण गर्ने वा के कस्तो विकल्प दिने भन्ने विषयमा केही उल्लेख नगरिएको, आफ्ना नागरिकहरूलाई बिना विकल्प धम्कीपूर्ण भाषामा निर्देशन दिनु मानव अधिकारको हनन भएको ठहर गर्दै पार्टीहरूले उक्त सूचनाको तीव्र भर्त्सना गरेका छन्।

त्यसैगरि नगरपालिकाले तत्कालका लागि उक्त सूचना फिर्ता लिएर बहस तथा छलफलका लागि उपयुक्त वातावरण सिर्जना गर्नुपर्ने माग गरिएको छ । ४८ घण्टाभित्र सूचना फिर्ता नभई जबरजस्ती हस्तक्षेप गरिएमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् राज्यसत्ता नै हुने चेतावनी दिइएको छ।

ज्ञापन पत्रमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) काभ्रेका इन्चार्ज जीत सी र नेपाल कम्युनिष्ट पार्टी (बहुमत) काभ्रेका इन्चार्ज सुन्तली थोकरले हस्ताक्षर गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।