भक्तपुर, श्रावण ८ । तामाङ सांगीतिक जगतमा गायक आर.के. स्याङ्तानले पहिलो पटक तामाङ भाषामा स्वर दिएको प्रेमगीत ‘डोन्बो श्होसी’ सार्वजनिक भएको छ। जिग्मे मिडिया प्रोडक्सनको प्रस्तुति रहेको उक्त गीत शुक्रबार भक्तपुरको क्लब बागमती, सिपाडोलमा आयोजित विशेष समारोहबीच सार्वजनिक गरिएको हो।
तामाङ भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनको उद्देश्यलाई आत्मसात गर्दै सार्वजनिक गरिएको यस गीतले प्रेम, विश्वास, गलतफहमी र विछोडका संवेदनशील भावनालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। नेपाली संगीतमा आफ्नो पहिचान बनाइसकेका आरके स्याङतानको तामाङ भाषामा यो पहिलो प्रस्तुति भएकाले पनि गीतप्रति संगीतप्रेमीहरूको विशेष चासो देखिएको छ।
कार्यक्रमका प्रमुख अतिथि तामाङ कलाकार संघका अध्यक्ष तथा चर्चित कलाकार विशाल काल्तान रहेका थिए। विशेष अतिथिका रूपमा ह्याङला आदिवासी तामाङ समाजका अध्यक्ष कर्मलोपसाङ लामा, तामाङ कलाकार संघका पूर्वअध्यक्ष सञ्जीव वाइबा, वरिष्ठ पत्रकार जगत दोङ, नेपाल तामाङ घेदुङका सचिव हिरालाल दोङ लगायत पत्रकार, कलाकार तथा संगीतकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले तामाङ मौलिकता बोकेका यस्ता सिर्जनाले नयाँ पुस्तालाई भाषा, कला र संस्कृतिप्रति थप आकर्षित गर्ने विश्वास व्यक्त गरे।
गीतमा युवा गायक आर.के.स्याङ्तान र जितु लोप्चन को सुमधुर स्वर रहेको छ। चर्चित गीतकार कुमार स्याङ्वा को शब्द,लोकप्रिय निमा दाङ को संगीत, चन्द सिंह को संगीत संयोजन तथा दिपेश प्रधान को मिक्सिङले गीतलाई अझ श्रुतिमधुर बनाएको छ। गीतको रेकर्डिङ संगीत र आवाज स्टुडियो मा गरिएको हो।
भिडियोमा व्यस्त मोडल याङ्गी दोङ, मिलन थिङ, अनिता गोले, कुइसाङ रुम्बा र प्रबल थिङ को अभिनय रहेको छ। विशेषगरी याङ्गी दोङको जीवन्त र भावपूर्ण अभिनयले गीतको मर्मलाई गहिराइसम्म पुर्याएको अनुभूति दर्शकले गर्न सक्छन्।
‘डोन्बो श्होसी’ को कथा प्रेममा जन्मिने विश्वास, शंका र विछोडको पीडामाथि आधारित छ। गहिरो प्रेममा रहेका युवक–युवतीबीच एउटा सामान्य गलतफहमीले सम्बन्धमा दरार ल्याउँछ। प्रिय व्यक्तिलाई अर्कै युवतीसँग देखेपछि युवतीको मनमा जन्मिएको अविश्वासले सम्बन्ध टुट्ने अवस्थासम्म पुग्छ। त्यसपछि परिवारले विवाहका लागि नयाँ सम्बन्ध अघि बढाउँदा दुवै पात्रले भोग्ने पीडा र अन्तर्द्वन्द्वलाई भिडियोमा अत्यन्त मार्मिक ढंगले चित्रण गरिएको छ। यही भावनात्मक प्रस्तुतीले गीतलाई साधारण प्रेमकथाभन्दा फरक बनाएको छ।
भिडियोको निर्देशन सूर्य लामा ले गरेका छन्। जेनिस तामाङ को छायांकन, सूर्य लामा कै सम्पादन तथा कलर, रविना लिम्बु को मेकअप र जिग्मे मिडिया प्रोडक्सन को पोस्ट–प्रोडक्सनले भिडियोको गुणस्तरलाई थप आकर्षक बनाएको छ।
तामाङ संगीतमा पछिल्लो समय मौलिकता र आधुनिक प्रस्तुतिको सुन्दर संयोजन खोजिरहेका दर्शकका लागि ‘डोन्बो श्होसी’ एउटा स्मरणीय कोसेढुङ्गा बन्न सक्ने देखिन्छ। प्रेमका मीठा अनुभूति, गलतफहमीको चसक्क दुखाइ र विछोडको मौन पीडालाई हृदयस्पर्शी ढंगले बोलेको यो सिर्जनाले तामाङ संगीत क्षेत्रमा नयाँ स्वाद थप्ने अपेक्षा गरिएको छ।
भिडियो हेर्नुस् ।




















