काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न भएको छ। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षता र सहसंयोजक माधव कुमार नेपालको सञ्चालनमा सम्पन्न उक्त बैठकले देशको पछिल्लो राजनीतिक तथा सामाजिक अवस्थालाई लिएर विभिन्न विशेष प्रस्तावहरू पारित गरेको छ।
हालै सुनसरी र सिरहा लगायत तराई-मधेशका क्षेत्रमा विभिन्न समूहबीच भएको द्वन्द्वमा परि तीन जनाको मृत्यु हुनुका साथै ठूलो संख्यामा मानिसहरू घाइते भएको घटनाप्रति पार्टीले गहिरो दुःख व्यक्त गरेको छ। मृतकहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। उक्त गम्भीर घटनाको सत्यतथ्य, झडपका कारणहरू तथा स्थानीय प्रशासन र सुरक्षाकर्मीको भूमिकाबारे निष्पक्ष छानबिन गर्न पार्टीका प्रवक्ता प्रकाश ज्वालाद्वारा जारी वक्तव्यमार्फत उच्चस्तरीय र स्वतन्त्र छानबिन आयोग गठनको माग सरकारसमक्ष राखिएको छ।
नेपाली समाज धार्मिक, सामाजिक र सांस्कृतिक सहिष्णुताको बलियो आधारमा उभिएको उल्लेख गर्दै बैठकले हालको कठिन परिस्थितिमा पनि जनताले देखाएको आपसी सद्भाव र एकताको प्रशंसा गरेको छ। परिस्थितिलाई सामान्य बनाउन राजनीतिक दल र नागरिक समाजले खेलेको भूमिकाको निरन्तरतामा पार्टीले विश्वास व्यक्त गरेको छ। साथै, धार्मिक र सांस्कृतिक विविधतायुक्त नेपालमा सबै समुदायबीचको सहअस्तित्व र सम्मानले नै राष्ट्रिय एकता सुदृढ हुने र भूराजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै कुनै पनि बाह्य शक्तिलाई चलखेल गर्न नदिन सजग रहनुपर्नेमा जोड दिइएको छ।
सरकारले विकसित परिस्थितिलाई राजनीतिक संवेदनशीलताका साथ समाधान गर्नुको सट्टा केवल प्रशासनिक र शक्ति प्रयोगतर्फ केन्द्रित गरेको भन्दै पार्टीले दुःख व्यक्त गरेको छ। सरकारलाई नागरिकसँग संवाद गरी समस्याको राजनीतिक र दिगो समाधान खोज्न आग्रह गरिएको छ। यसैगरी, वर्तमान परिस्थितिको आडमा संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र संविधानका उपलब्धिलाई कमजोर पार्ने तथा वैमनस्यता फैलाउने षड्यन्त्रप्रति सजग रहन सम्पूर्ण जनतामा आह्वान गर्दै यस्ता विभाजनकारी प्रयासहरूलाई असफल पार्न लोकतान्त्रिक र देशभक्त शक्तिहरूलाई एकताबद्ध हुन अपिल गरिएको छ।
पार्टीले आफ्ना सम्पूर्ण तल्लो तहका कमिटी, नेता तथा कार्यकर्ताहरूलाई सामाजिक सद्भाव कायम राख्न अन्य दल र संघसंस्थाहरूसँग संवाद, बैठक तथा सद्भाव र्याली जस्ता कार्यक्रमहरू सञ्चालन गर्न निर्देशन दिएको छ। तराई-मधेशको समस्या समाधान गर्दै शान्ति, सहिष्णुता र राष्ट्रिय एकताको रक्षाका लागि सरकार, राजनीतिक दल, नागरिक समाज र सञ्चारमाध्यमलाई संयम, निरन्तर संवाद र जिम्मेवारीपूर्ण व्यवहारका साथ अघि बढ्न पार्टीले हार्दिक अपिल गरेको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















