काठमाडौँ- तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले सुनसरीलगायत तराई-मधेश क्षेत्रमा पछिल्लो समय देखिएका धार्मिक द्वन्द्व, झैझगडा र आपराधिक गतिविधिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मोर्चाका महासचिव लिलाकुमार घलानद्वारा जारी प्रेस विज्ञप्तिमा तराई क्षेत्रका घटनामा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
मोर्चाले कुनै पनि बहानामा हुने हिंसा, बल प्रयोग, सामाजिक सद्भाव खलबल्याउने गतिविधि र अराजकताको घोर भर्त्सना गरेको छ। विज्ञप्तिमा भनिएको छ, “नागरिकको जीउधनको रक्षा गर्नु, कानुनको शासन कायम गर्नु र देशमा शान्तिसुरक्षा कायम गर्नु राज्यको पहिलो दायित्व हो। तर, पछिल्ला अप्रिय घटनाहरूले राज्यको सुरक्षा संयन्त्र र कानुनी राज्यको अवधारणामाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ।”
तनावग्रस्त क्षेत्रमा देखिएका समस्याको समाधान प्रतिशोध वा हिंसाबाट नभई आपसी संवाद, शान्तिपूर्ण माध्यम र सामाजिक-राजनीतिक सहमतिका आधारमा खोजिनुपर्ने मोर्चाको जोड छ।
सरकारसमक्ष माेर्चाले तराई क्षेत्रमा तत्काल शान्ति, सुरक्षा र अमनचैनको स्थिति पूर्ण रूपमा बहाल गर्नुपर्ने, घटनामा संलग्न दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न र मृतकका परिवारलाई उचित न्याय र क्षतिपूर्तिको व्यवस्था गर्न समेत माग गरेको छ ।
साथै, मोर्चाले यस संवेदनशील परिस्थितिमा कुनै पनि किसिमका अफवाह, उत्तेजना र उक्साहटमा नलागी संयमता अपनाउन सम्पूर्ण तराईवासी तथा देशवासीमा हार्दिक अपिल गरेको छ। बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक विशेषतायुक्त नेपालमा आपसी सहिष्णुता र राष्ट्रिय एकता अक्षुण्ण राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















