धुलिखेल- जिल्लाको बनेपा नगरपालिका वडा नं. ६ बुडोलडाँडास्थित एक रेष्टुरेन्टमा कौडा तथा तास खेलिरहेको अवस्थामा होटल सञ्चालकसहित सात जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले साउन १७ गते साँझ करिब ६ बजे हाईवे सेकुवा कर्नर तथा थकाली रेष्टुरेन्टबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
विशेष सूचनाका आधारमा प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले छापा मार्दा रेष्टुरेन्टमा तास खेलिरहेको भेटिएको थियो। पक्राउ पर्नेहरूमा रेष्टुरेन्ट सञ्चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ९ घर भई हाल बनेपा बस्ने २४ वर्षीय सन्तोष तिमिल्सिना रहेका छन्। त्यस्तै, काभ्रेपलाञ्चोक जिल्ला तेमाल गाउँपालिका वडा नं. २ निवासी ३० वर्षीय पासाङ तामाङ र २७ वर्षीय कुनसाङ तामाङ, तेमाल-१ निवासी २७ वर्षीय रुपेश रानामगर, ३६ वर्षीय कुल बहादुर मगर, २० वर्षीय सुजन नेपाली र ४० वर्षीय धन बहादुर धिताल रहेका छन्।
प्रहरीले जुवातास खेलिरहेको स्थानबाट १ बुक तास र नगद ९० हजार ३ सय ४५ रुपैयाँ समेत बरामद गरेको छ। पक्राउ परेका सबै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बनेपामा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















