चौंरीदेउराली- काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्दै आएका काभ्रेको चौरीदेउराली गाउँपालिकाका बासिन्दालाई लक्षित गरी पेप्सिकोलाबाटै सामाजिक सुरक्षा परिचय पत्र नवीकरणको घुम्ती सेवा सोमबारबाट सुरु गरिएको छ।
गाउँपालिका फर्कन असमर्थ अशक्त तथा ज्येष्ठ नागरिकहरूलाई सहजीकरण गर्ने उद्देश्यले गाउँपालिका अध्यक्ष एवम् संविधानसभा सदस्य रेणुका चौँलागाईंको विशेष पहल र वडा अध्यक्षहरूको समन्वयमा यो सेवा काठमाडौँमा सञ्चालनमा ल्याइएको हो।
गाउँपालिकाको पञ्जिकरण शाखाका कर्मचारीसहित खटिएको टोलीले काठमाडौँको पेप्सिकोलास्थित ‘स्टार फुड एण्ड बैंक्वेट’ बाट सेवा प्रवाह गरिरहेको छ। काठमाडौँ, भक्तपुर, ललितपुर, बनेपा र धुलिखेलमा बसोबास गर्ने चौरीदेउरालीका स्थायी बासिन्दाहरूले बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म यो सुविधा लिन सक्नेछन्। १२ घण्टासम्म सेवा उपलब्ध गराइँदा कामकाजी नागरिकहरूलाई समेत ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
यस पहलबारे बोल्दै गाउँपालिका अध्यक्ष रेणुका चौँलागाईंले नागरिकको सुविधाका लागि गाउँपालिका सधैँ तत्पर रहेको बताउनुभयो। “विशेष गरी हाम्रा ज्येष्ठ नागरिक र अशक्तहरूलाई मध्यनजर गरेर हामीले उहाँहरूकै पायक पर्ने ठाउँमा सेवा पुर्याउने प्रयास गरेका हौँ,” उहाँले भन्नुभयो, “यसले लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यता हटाएर नागरिकको समय र श्रम दुवैको बचत गर्नेछ।” अध्यक्ष चौँलागाईंले आगामी दिनमा गाउँपालिकाका अन्य सेवाहरूलाई पनि थप प्रभावकारी र प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
गाउँपालिकाले उपत्यका आसपास रहेका आफ्ना सम्पूर्ण नागरिकहरूलाई तोकिएको समय र स्थानमा उपस्थित भई सामाजिक सुरक्षा परिचय पत्र नवीकरणको अवसर सदुपयोग गर्न अनुरोध गरेको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















