तेमाल- काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका तर हाल गाउँपालिका बाहिर बसोबास गरिरहेका लाभग्राहीहरूलाई लक्षित गरी काठमाडौँ उपत्यका र काभ्रेका विभिन्न स्थानमा घुम्ती शिविर सञ्चालन गरिने भएको छ।
तेमाल गाउँपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै गाउँपालिका बाहिर रहेका लाभग्राहीहरूकै सुविधाका लागि काठमाडौँ, भक्तपुर र काभ्रेका विभिन्न स्थानमा पुगेर सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गराउने व्यवस्था मिलाइएको जनाएको छ।
सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली २०८२ को नियम ९ को उपनियम (१) अनुसार लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा उपस्थित भई भत्ता परिचयपत्र नवीकरण गराउनुपर्ने कानुनी प्रावधान छ। सोही प्रावधान अनुसार सेवाग्राहीहरूलाई आफ्नै पायक पर्ने स्थानबाट सेवा दिन गाउँपालिकाले साउन २३ गतेदेखि साउन २९ गतेसम्म विभिन्न स्थानमा नवीकरण शिविर सञ्चालन गर्न लागेको हो।
गाउँपालिकाका अनुसार साउन २३ गते काठमाडौँको कुमारीगाल, साउन २४ गते गोकर्णेश्वरको नयाँ बस्ती र साउन २५ गते कपन आकाशेधारामा नवीकरण शिविर सञ्चालन हुनेछ। त्यसैगरी साउन २६ गते स्वयम्भू, साउन २७ गते कोटेश्वर, साउन २८ गते भक्तपुरको सूर्यविनायक र साउन २९ गते काभ्रेको बनेपामा घुम्ती शिविर सञ्चालन गरिनेछ। यी सबै स्थानहरूमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म नवीकरणको काम हुनेछ।
सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि लाभग्राही व्यक्ति स्वयं उपस्थित भई निवेदन दिनुपर्नेछ। निवेदनका साथ सामाजिक सुरक्षा भत्ताबाट लाभान्वित व्यक्तिको नागरिकताको छायाँकपी, सामाजिक सुरक्षा भत्ता कार्ड, दुई प्रति पासपोर्ट साइजको फोटो, राष्ट्रिय परिचयपत्रको छायाँकपी र बैङ्क खाता नम्बर पेस गर्नुपर्नेछ।
यस्तै अपाङ्गता भएका व्यक्तिको हकमा अपाङ्गता परिचयपत्रको छायाँकपी, विधवा तथा एकल महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाणपत्रको छायाँकपी वा ६० वर्ष मुनिका विधवा तथा ६० वर्ष माथिका अविवाहित जेष्ठ एकल महिलाको हकमा वडा कार्यालयको सिफारिस आवश्यक पर्नेछ। दलित तथा १६ वर्ष मुनिका बालबालिकाको हकमा भने जन्म दर्ता र संरक्षकको नागरिकता प्रमाणपत्रको छायाँकपी संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ।
गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०८२ बमोजिम १६ वर्ष पूरा नभएका बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने अशक्त र ९० वर्ष माथिका जेष्ठ नागरिकहरूलाई राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने स्पष्ट पारेको छ। तोकिएको म्यादभित्र नवीकरण नगराएका लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि अनुसार लागत कट्टा गरिने भएकाले समयमै नवीकरण प्रक्रिया पूरा गर्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले आग्रह गर्नुभएको छ।
थप जानकारी वा सहयोगका लागि तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङ (९८५१०८२२९४), एम.आइ.एस. अपरेटर उद्धवप्रसाद पाण्डे (९८५१११५३५८) वा गाउँपालिकाको सामाजिक सुरक्षा शाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न सकिनेछ।
यस्तो छ सूचना


समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















