काठमाडौँ। नेपाल शिक्षक महासङ्घले शिक्षक तथा विद्यालय कर्मचारीका पेसागत हकहितका मागहरू सम्बोधन नभए आगामी भदौदेखि देशभर सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। काठमाडौँमा सम्पन्न तेस्रो राष्ट्रिय परिषद्का निर्णयहरू सार्वजनिक गर्दै महासङ्घले विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन नभए आन्दोलनको विकल्प नरहेको स्पष्ट पारेको हो।
विशेष गरी चालु आर्थिक वर्ष २०८३/०८४ को बजेटमा प्रारम्भिक बालविकास (ECED) शिक्षक, विद्यालय कर्मचारी तथा सिकाइ अनुदान शिक्षकहरूलाई तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ताबाट वञ्चित गराइएको भन्दै महासङ्घले तीव्र रोष प्रकट गरेको छ। महासङ्घले २०८२ वैशाख १७ गतेको मन्त्रिपरिषद् निर्णय अनुसार दुर्गम तथा स्थानीय भत्ता सबै शिक्षकहरूलाई तत्काल उपलब्ध गराउन माग गरेको छ। साथै, बालविकास शिक्षक र विद्यालय कर्मचारीका लागि स्थायी दरबन्दी सिर्जना गरी सेवा सुविधाको ग्यारेन्टी गर्न सरकारसँग जोडदार माग गरिएको छ।
महासङ्घले temporary, राहत, साबिक उच्च माध्यमिक, करार तथा प्राविधिक धारका शिक्षक एवं कर्मचारीको पेसागत सुरक्षाका लागि आफू नै आधिकारिक संस्था भएको स्पष्ट पारेको छ। यसैबीच, महासङ्घको नाममा अनधिकृत रूपमा फारम भराउने वा रकम सङ्कलन गर्ने जस्ता गतिविधिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै त्यस्ता कार्य नगर्न सचेत गराएको छ।
शिक्षक र कर्मचारीको हकहितका अलावा महासङ्घले सरकारसँग भएका पूर्वसहमति बमोजिम ‘शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन’ शीघ्र जारी गर्न, राष्ट्रिय बजेटको कम्तीमा २० प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्न र संविधान प्रदत्त निःशुल्क तथा अनिवार्य शिक्षाको पूर्ण कार्यान्वयन गर्न जोडदार माग गरेको छ। माग पूरा नभए आगामी भदौदेखि सुरु हुने आन्दोलनका कार्यक्रम तय गर्ने अधिकार विस्तारित कार्यालयीय बैठकलाई प्रत्यायोजन गरिएको छ।
यसैगरी, परिषद्ले सुनसरीको कप्तानगञ्जबाट सुरु भई मधेस प्रदेशका विभिन्न भागमा फैलिएको साम्प्रदायिक हिंसाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अविलम्ब शान्ति बहाली गर्न र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेको छ। महासङ्घले पाकिस्तानको ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जासहितका आरोहीहरूप्रति शोक व्यक्त गर्दै विगतका शैक्षिक आन्दोलनका घाइते तथा सहभागीहरूलाई आभार व्यक्त गरेको छ। महासङ्घले आफ्ना अधिकार प्राप्तिका लागि सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई एकताबद्ध हुन आह्वान समेत गरेको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















