काठमाडौं । नेपाल तामाङ मौलिक ह्वाईला न्हानको छैटौँ वार्षिक उत्सव कार्यक्रम तथा साधारणसभा–२०८३ आयोजना हुने कार्यक्रम तयारी पुरा भएको छ।
संस्थाका अध्यक्ष सञ्जिव योञ्जन (पोङ्दीला च्याङ्बा) ले तेमाल अनलाइनलाई दिएको जानकारीअनुसार तामाङ समुदायको मौलिक संस्कृति, परम्परा, पहिचान र सांस्कृतिक एकताको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रम २०८३ साल साउन ३० गते शनिबार बिहान ११ बजे काठमाडौं बोधिसत्व सेवा समाज, बुद्ध चोक,बाैद्व लभडाँडामा आयोजना हुने आयोजकले जनाएको छ।

वार्षिक उत्सवसँगै संस्थाको साधारणसभा–२०८३ समेत आयोजना हुने भएकाले कार्यक्रमलाई संस्थागत समीक्षा, आगामी कार्ययोजना निर्माण तथा संगठनात्मक सुदृढीकरणका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ। साधारणसभामा संस्थाको विगतका गतिविधिको समीक्षा गर्दै आगामी दिनमा तामाङ मौलिक कला, संस्कृति र परम्पराको संरक्षणका लागि अघि बढाइने कार्यक्रमबारे छलफल हुने बताइएको छ।

अध्यक्ष योञ्जनका अनुसार तामाङ समुदायको मौलिक सांस्कृतिक सम्पदालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु संस्थाको प्रमुख उद्देश्य हो। आधुनिकताको प्रभावसँगै लोप हुँदै गएका मौलिक संस्कृति, भाषा, भेषभूषा, बाजागाजा, नृत्य तथा परम्परागत सांस्कृतिक अभ्यासको संरक्षण र पुस्तान्तरणमा संस्थाले निरन्तर पहल गर्दै आएको छ।

कार्यक्रममा संस्थासँग आबद्ध कलाकार, संस्कृति अभियन्ता, शुभेच्छुक, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा तामाङ समुदायका अगुवाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

“मौलिकता हाम्रो पहिचान, एकता हाम्रो अभियान” भन्ने मूल भावनाका साथ आयोजना हुन लागेको छैटौँ वार्षिक उत्सव तथा साधारणसभाले तामाङ मौलिक संस्कृति संरक्षणको अभियानलाई थप संस्थागत र प्रभावकारी बनाउने विश्वास आयोजकले लिएको छ।

कार्यक्रममा सम्पूर्ण तामाङ समुदाय, सांस्कृतिक अभियन्ता, कलाकार, शुभेच्छुक तथा सरोकारवालालाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन हार्दिक अनुरोधसमेत गरेका छन्।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।