खानीखोला- काभ्रेको खानीखोला गाउँपालिका-१ स्याउलीथलीस्थित पनौती-तालढुङ्गा भित्री सडक-खण्डमा सोमबार बा २१ च २४२ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित चार जना घाइते भएका छन्।

२०८३ भदौ १ गते बिहान ११:३० बजेको समयमा बोलेरो अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो । घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी फलामेटार, तालढुङ्गा, ढुङ्खर्क र खोपासीबाट एम्बुलेन्ससहितको प्रहरी टोली उद्धारका लागि खटिएको थियो।

दुर्घटनामा परी काभ्रे खानीखोला गाउँपालिका-२ बस्ने करिब २४ वर्षीया अनिता मोक्तान र सोही गाउँपालिका वडा नं. ४ बस्ने करिब ६१ वर्षीय कलक बहादुर माझीको मृत्यु भएको छ।

दुर्घटनामा काभ्रे बनेपा नगरपालिका-१४ का २५ वर्षीय राहुल तामाङ, खानीखोला गाउँपालिका-३ का २४ वर्षीय प्रदिप जर्गामगर, खानीखोला-५ का बौद्धमान लामा र सिन्धुपाल्चोक चौतारा नगरपालिकाका धनपति रावल घाइते भएका छन्। बौद्धमान लामाको टाउकोमा चोट लागेको छ भने धनपति रावलको अवस्था गम्भीर रहेको छ। गाडी चालक सिन्धुली सुनकोशी गाउँपालिकाका २८ वर्षीय यस बहादुर तामाङ हुन् ।

गम्भीर घाइतेहरूलाई बेथानचोक गाउँपालिका-५ कामीडाँडाबाट अपरान्ह १५:१५ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी १५:२५ बजे धुलिखेल अस्पताल पुर्‍याइएको छ। घाइतेहरूको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।