काठमाडौं । ३२औँ तामाङ प्रसारण दिवसको अवसरमा तामाङ पत्रकार संघ, संघीय समितिले आयोजना गरेको विशेष समारोहमा दुई सञ्चारकर्मी तामाङ मिडिया अवार्ड–२०८३ बाट सम्मानित भएका छन्।
यस वर्ष काभ्रेका पत्रकार जगतमान तामाङ र मकवानपुरकी पत्रकार जमुना तामाङलाई तामाङ भाषा, सञ्चार, कला, संस्कृति तथा समुदायको पहिचान प्रवर्द्धनमा पुर्याएको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको हो।
प्रतिनिधिसभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि परशुराम तामाङ र तामाङ पत्रकार संघका अध्यक्ष नेत्र तामाङले दुवै सञ्चारकर्मीलाई जनही नगद १० हजार रुपैयाँ र सम्मानपत्रसहित सम्मान गरेका थिए।
काभ्रेको तेमाल निवासी जगतमान तामाङले वि.सं. २०६४ सालमा रेडियो नमोबुद्धबाट पत्रकारिता यात्रा सुरु गरेका हुन्। समाचार सम्पादन तथा वाचनसँगै तामाङ भाषा र अन्य भाषाका विभिन्न कार्यक्रम उत्पादन तथा सञ्चालन गर्दै आएका उनी हाल रेडियो नमोबुद्धमा स्टेशन म्यानेजरका रूपमा कार्यरत छन्। उनी नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको तामाङ भाषाको कार्यक्रम ‘ल्हास्सो’ का निर्माण तथा प्रस्तुतकर्तासमेत हुन्।
सम्मानपछि बोल्दै जगतमान तामाङले तामाङ मात्र नभई नेपालका सबै आदिवासी जनजातिका मातृभाषाको संरक्षण र विकासमा राज्यले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए। मातृभाषाको संरक्षण समुदायको मात्र नभई राज्यको समेत दायित्व भएको उनको भनाइ थियो।
त्यस्तै, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ निवासी जमुना तामाङले वि.सं. २०७६ सालमा ‘समृद्ध समाज दैनिक’बाट पत्रकारिता सुरु गरेकी हुन्। विभिन्न रेडियो, अनलाइन तथा पत्रपत्रिकामा काम गर्दै आएकी उनी हाल बागमती प्रदेशको राजधानी हेटौँडाबाट हिमालय टेलिभिजनकी संवाददाताका रूपमा सक्रिय छिन्।
अवार्डका लागि तामाङ पत्रकार संघका संस्थापक अध्यक्ष रवीन्द्र तामाङको संयोजकत्वमा गठित समितिले सिफारिस गरेको थियो। समितिका सदस्यमा संघका प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष सुवास योञ्जन र महासचिव सरस्वती तामाङ रहेका थिए।
कार्यक्रममा प्रमुख अतिथि परशुराम तामाङले तामाङ सञ्चारको प्रारम्भिक यात्रादेखि वर्तमान अवस्थासम्म आइपुग्दा सञ्चारकर्मीहरूले गरेको संघर्ष र योगदानको स्मरण गरे। तामाङ भाषामा सञ्चारको विकास हुनु समुदायका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै उनले मातृभाषाको संरक्षण र प्रवर्द्धनका लागि राज्यले नीतिगत तथा संस्थागत पहल गर्नुपर्नेमा जोड दिए।
समारोहमा अन्तर्राष्ट्रिय तामाङ परिषद्का महासचिव टासी लामा, तामाङ सञ्चार क्षेत्रकी अग्रणी व्यक्तित्व रमिता बल, तामाङ पत्रकार संघका सल्लाहकार विष्णु तामाङ, नेपाल तामाङ घेदुङका अध्यक्ष रामकृष्ण ब्लोन तामाङ, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामालगायतले शुभकामना मन्तव्य दिएका थिए।
उनीहरूले मातृभाषी पत्रकारिताको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे चर्चा गर्दै तामाङ भाषाको पत्रकारिता विस्तार तथा संरक्षणका लागि राज्य, सञ्चार क्षेत्र र समुदायबीच सहकार्य आवश्यक रहेको बताए।
कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष लक्की चौधरीले मातृभाषी पत्रकारिताले भाषा संरक्षणसँगै आदिवासी जनजातिका कला, संस्कृति, संस्कार र पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेलिरहेको बताए।
छापादेखि एआईसम्म तामाङ सञ्चारको यात्रा
दिवसको अवसरमा ‘तामाङ सञ्चारको यात्रा : छापादेखि एआईसम्म’ विषयमा अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो। पूर्व मिस तामाङ सफलता थिङ तामाङले सहजीकरण गरेको अन्तरक्रियामा भाषाविज्ञ अमृत योञ्जन, आईटी विज्ञ प्रा. डा. बालकृष्ण बल, सञ्चारकर्मी मिक्साङ वाइबा र बिरबल तामाङ वक्ताका रूपमा सहभागी थिए।
अन्तरक्रियामा तामाङ सञ्चारको प्रारम्भिक चरणदेखि डिजिटल प्रविधि र कृत्रिम बौद्धिकता (एआई) सम्म आइपुग्दा तामाङ पत्रकारितामा आएको परिवर्तन, अवसर र चुनौतीबारे छलफल गरिएको थियो। वक्ताहरूले आधुनिक प्रविधिको उपयोग गर्दै तामाङ भाषामा गुणस्तरीय सामग्री उत्पादन र नयाँ पुस्तालाई पत्रकारितामा आकर्षित गर्नुपर्नेमा जोड दिए।
तामाङ पत्रकार संघका अध्यक्ष नेत्र तामाङले मातृभाषी पत्रकारिताको विकासमा योगदान पुर्याउने अग्रज तथा वर्तमान पुस्ताका सम्पूर्ण सञ्चारकर्मीप्रति आभार व्यक्त गर्दै तामाङ पत्रकारितालाई अझ व्यवस्थित, प्रभावकारी र व्यापक बनाउन सबै पक्षको सामूहिक पहल आवश्यक रहेको बताए।
३२औँ तामाङ प्रसारण दिवस तथा तामाङ मिडिया अवार्ड–२०८३ समारोहले तामाङ सञ्चारको विगतलाई सम्मान गर्दै वर्तमान चुनौती र भविष्यको सम्भावनाबारे बहस गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ।




















