काठमाडौँ- लामो राजनीतिक अनिर्णय र रस्साकस्सीका बीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अन्ततः बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि समर्थन जनाएको छ। राप्रपाका १२ जना सांसदले समर्थन गर्ने औपचारिक सहमति गरेसँगै नेकपा एमालेका किरण थापामगरले बागमती प्रदेशको मुख्यमन्त्री पदका लागि आफ्नो दाबी पेश गरेका छन्।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बहुमतको सरकार गठनका लागि आवश्यक ६३ जना सांसदको सशक्त समर्थनसहित थापामगरले प्रदेश प्रमुखसमक्ष बुधबार दाबी पेश गरेका हुन्। ११० सदस्यीय बागमती प्रदेशसभामा नयाँ सरकार बनाउन ६३ सांसदको समर्थन जुटाउन एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसद एक ठाउँमा उभिएका छन्।

मुख्यमन्त्रीको दाबी पेश गर्ने क्रममा शीर्ष दलका नेताहरूको प्रत्यक्ष सहभागिता र हस्ताक्षर रहेको थियो। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, नेकपा संसदीय दलका नेता शालिकराम जम्काट्टेल र राप्रपा नेता उद्धव थापाले संयुक्त समर्थन पत्रमा हस्ताक्षर गरी नयाँ सत्ता समीकरणको खाका प्रस्तुत गरेका हुन्।

यसअघि राप्रपाले प्रदेश सरकार निर्माणको खेलमा सहभागी नहुने र तटस्थ बस्ने अडान लिँदै आएको थियो। तर, पार्टीको केन्द्रीय बैठकले सरकार गठनका सम्बन्धमा अन्तिम निर्णय लिने पूर्ण अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएपछि राप्रपाले अन्तिम समयमा आएर एमाले-नेकपा गठबन्धनलाई समर्थन गर्ने निर्णय लिएको हो। राप्रपाको यो निर्णयसँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको संवैधानिक प्रक्रियाले पूर्णता पाएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।