धुलिखेल– धुलिखेल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आगामी शनिबार हुने निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न भएसँगै स्थानीय स्तरमा चुनावी माहोल ह्वात्तै तातेको छ। धुलिखेलको खानेपानी व्यवस्थापन, गुणस्तरीय वितरण प्रणाली र सरसफाइजस्ता प्रत्यक्ष जनसरोकारका विषयसँग जोडिएको समितिको नयाँ नेतृत्व हात पार्न उम्मेदवारहरू आ-आफ्ना एजेन्डासहित उपभोक्ताको घरदैलोमा पुगेका छन्।
निर्वाचन अधिकृत गायत्री घिमिरेका अनुसार निर्धारित कार्यतालिका अनुसार नै सबै पदमा उम्मेदवारी दर्ता सम्पन्न भइसकेको छ। विशेष गरी अध्यक्ष पदका लागि चार जनाको मनोनयन परेकाले यसपटकको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ।
अध्यक्ष पदका लागि कृष्ण भूषण खोजु श्रेष्ठ (धुलिखेल–६), केशवबहादुर खुलाल/के.सी. (धुलिखेल–४), राजकुमार श्रेष्ठ तखाछे (धुलिखेल–७), र श्याम दर्शन गणेजु (धुलिखेल–७)ले प्रतिस्पर्धा गर्दै छ । यसैबीच सचिव पदका लागि जिवनाथ पराजुली (धुलिखेल–४) र विन्द्रलाल खोंजु श्रेष्ठ (धुलिखेल–७)बीच प्रतिस्पर्धा हुँदै छ भने कोषाध्यक्ष पदका लागि प्रभातकुमार श्रेष्ठ (धुलिखेल–७) र हरिकृष्ण तिमल्सिना (धुलिखेल–४)ले प्रतिस्पर्धा गर्दैछ ।
वडागत सदस्य पदका उम्मेदवारहरू समेत मैदानमा उत्रिएका छन् । वडा नं. ३ मा खुला सदस्यमा अर्जुनबहादुर थापा र महिला सदस्यमा माधवी के.सी., वडा नं. ४ बाट खुला सदस्यमा किरण रञ्जितकार, जयराम थापा र दामोदरप्रसाद गौतम; महिला सदस्यमा लोककुमारी खरेल, वडा नं. ५ बाट खुला सदस्यमा प्रविण श्रेष्ठ र राधेश्याम श्रेष्ठ; महिला सदस्यमा कुमारी तामाङ र शर्मिला जोशी कार्की, वडा नं. ६ बाट खुला सदस्यमा उमेश भट्टराई र दिपेश श्रेष्ठ; महिला सदस्यमा दिलहरीमाया श्रेष्ठ, वडा नं. ७ बाट खुला सदस्यमा निरज खड्का क्षेत्री र श्यामलाल श्रेष्ठ गज्या; महिला सदस्यमा लक्ष्मी माकजु श्रेष्ठ र वडा नं. ८ बाट खुला सदस्यमा इन्द्रबहादुर तामाङ र मुकुन्द न्यौपाने; महिला सदस्यमा रूपा कट्टेल हमाल र साइँली तामाङ चुनावी मैदानमा उत्रेका छन् ।
उपभोक्ताहरूको प्रत्यक्ष सहभागिता रहने यस निर्वाचनबाट चयन हुने नयाँ टोलीले धुलिखेलको खानेपानी आपूर्तिलाई थप व्यवस्थित, नियमित र गुणस्तरीय बनाउनुका साथै सरसफाइ सम्बन्धी दायित्वलाई अझ प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















