तेमाल- काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले जनैपूर्णिमा तथा नारायणस्थान धार्मिक मेला (जात्रा) को पावन अवसरमा भदौ ११ र १२ गते दुई दिन स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र राज गुरुङ्गद्वारा हस्ताक्षरित सूचना अनुसार मिति २०८३ श्रावण १२ गते को कार्यपालिका बैठकले सो निर्णय गरेको हो ।

गाउँपालिकाको केन्द्रमा रहेको ऐतिहासिक तथा धार्मिक स्थल श्री सत्यनारायण मन्दिर परिसरमा परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन भव्य धार्मिक जात्रा तथा मेला लाग्दै आएको छ। उक्त मेला तेमाल क्षेत्रकै एक प्रमुख सांस्कृतिक पर्वका रूपमा स्थापित भइसकेको छ ।

उक्त जात्रा तथा अनुष्ठानमा तेमाल गाउँपालिकाका साथै वरपरका छिमेकी गाउँपालिका, नगरपालिका तथा छिमेकी जिल्लाहरूबाट समेत ठूलो संख्यामा श्रद्धालु भक्तजनहरूको उपस्थिति हुने गर्दछ।

मेला तथा धार्मिक यात्रालाई सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गराउनका लागि गाउँ कार्यपालिकाकोले प्रत्येक वर्ष सार्वजनिक विदा दिँदै आएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।