धुलिखेल- कारागारमा रहेका जबरजस्ती करणी मुद्दाका प्रतिवादीको मुद्दा मिलाइदिने प्रलोभन देखाई ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। सरकारी वकील, प्रहरी र न्यायाधीशसँग आफ्नो चिनजान रहेको भन्दै प्रतिवादीका अभिभावकबाट साढे दुई लाख रुपैयाँभन्दा बढी ठगी गर्ने तीन जना काभ्रे प्रहरी र काठमाडौँ अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीको फन्दामा परेका हुन्।

कारागार कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा कैदीबन्दी भई बसेका जबरजस्ती करणी मुद्दाका प्रतिवादी सन्देश वाईबाको “केश मिलाइ दिन्छु, मसँग चिनजानका सरकारी वकील, प्रहरी र न्यायाधीश छन्” भन्दै उनका बुवा धनबहादुर वाईबा तामाङसँग पटक-पटक गरी २ लाख ३५ हजार रुपैयाँ ठगी गरेको आरोप उनीहरूमाथि लागेको छ।

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका-०७ बस्ने ३२ वर्षीय दिल बहादुर घिसिङ, चितवन भरतपुर महानगरपालिका-१४ बस्ने ६३ वर्षीय गम बहादुर पौडेल र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-०२ बस्ने ५५ वर्षीय सिंह बहादुर तामाङ रहेका छन्।

विशेष सूचना र काठमाडौँ अपराध अनुसन्धान कार्यालयको समन्वयमा खटिएको प्रहरी टोलीले उनीहरूलाई २०८३ भदौ ५ गते पक्राउ गरेको हो। पक्राउ परेका तीनै जनालाई ठगी सम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बनेपामा राखिएको छ। उनीहरूमाथि थप अनुसन्धान गर्न काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी निरीक्षक कबिन राईले जानकारी दिएका छन्।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।