काभ्रे । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–७ कुरुवासका करिब २० वर्षीय विशाल तामाङ रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका छन्।
च्याङबा तामाङका छोरा विशाल तामाङ रसुवास्थित अपर त्रिशूली जलविद्युत् आयोजनामा कार्यरत रहेको परिवारले जनाएको छ। बुधबार बिहान भोटेकोसी नदीमा आएको बाढीपछि उनी परिवारको सम्पर्कमा आउन सकेका छैनन्।
परिवारका अनुसार विशालले बुधबार बिहान करिब ७ बजे परिवारसँग अन्तिमपटक फोनमा कुराकानी गरेका थिए। फोनमा उनले, “ल है, म अब ड्युटी जान्छु, राम्रोसँग बस्नु है,” भन्दै फोन राखेका थिए। त्यसपछि भने उनीसँग परिवारको कुनै सम्पर्क हुन सकेको छैन।
बाढीका कारण रसुवा लगायतका क्षेत्रमा जनजीवन प्रभावित भइरहेका बेला जलविद्युत् आयोजनामा कार्यरत विशाल सम्पर्कविहीन भएपछि परिवारजन गहिरो चिन्तामा छन्। उनको अवस्था अझै अज्ञात रहेको र खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग परिवारले आग्रह गरेको छ।
विशाल तामाङको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा तत्काल परिवारलाई खबर गरिदिन अनुरोध गरिएको छ।
सम्पर्क नम्बर:
📞 ९८२३५४४२४९
📞 ९८१००८४७०२






















