चाैरीदेउराली- काभ्रेपलाञ्चोक जिल्ला चौंरीदेउराली गाउँपालिका वडा नं. का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वडा सभापति जबरजस्ती करणी मुद्दामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पक्राउ पर्नेमा चौरीदेउराली गाउँपालिका-२ का ६४ वर्षीय रास्वपा सभापति अच्युत न्यौपाने हुन् ।
जबरजस्ती करणी मुद्दामा फरार रहेको अवस्थामा पक्राउ परेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुसँगको समन्वयमा काठमाडौं महानगरपालिका–१० बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी निरिक्षक कबिन राईले जानकारी दिएका छन् ।
प्रहरी निरिक्षक राईका अनुसार उनीविरुद्ध आफ्नै टोलकी ३० वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा जिल्ला अदालत काभ्रेपलाञ्चोकमा मुद्दा दर्ता भएको थियो। मुद्दा दर्तापछि फरार रहेका न्यौपानेलाई प्रहरीले खोजतलासका क्रममा पक्राउ गरेको जनाएको छ। पक्राउपछि उनलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकमा उपस्थित गराइएको थियो। अदालतबाट ५ दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















