काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपत्तिको वर्तमान संकट सामना गर्न सम्पूर्ण राजनीतिक शक्तिहरूलाई आग्रह-पूर्वाग्रह त्यागेर एक ठाउँमा उभिन आह्वान गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आयोजित सर्वदलीय बैठकमा बोल्दै उनले विपत्तिका बेला राजनीतिक मतभेद थाती राखेर उद्धार, राहत र पुनस्थापनमा जुट्नुपर्ने बताए ।
प्रचण्डले अहिलेको देशको परिस्थिति गम्भीर भएकाले लामो बहस वा राजनीतिक आग्रह-पूर्वाग्रहमा नअल्झिई सबै दलहरू खोजी, उद्धार र राहतमा तुरुन्त जुट्नुपर्नेमा जोड दिँदै यो सामान्य प्राकृतिक विपत्ति मात्र नभई जलवायु परिवर्तन र हिमाली क्षेत्रको जोखिमसँग जोडिएको गम्भीर संकेत भएकाले अल्पकालीन राहतसँगै दीर्घकालीन नीतिगत र वैज्ञानिक रणनीति बनाउनुपर्ने धारणा राखे ।
हिमाली क्षेत्रमा विपत्तिको पूर्वसूचना संयन्त्र बलियो बनाउन छिमेकी मुलुकहरूसँग समन्वय गर्ने र अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु न्याय तथा क्षतिपूर्तिको मुद्दालाई सशक्त रूपमा उठाउनुपर्ने बताउँदै उनले रसुवाको भोटेकोशी बाढीबाट सिर्जना संकट समाधान गर्न सरकारलाई पार्टीको तर्फबाट पूर्ण साथ रहने र पार्टी पंक्तिलाई उद्धार कार्यमा जुट्न निर्देशन दिइसकिएको बताए ।
उनले विपत्तिमा कोही पनि नागरिक एक्लो महसुस नगर्ने गरी राज्य र सबै दलहरूले साझा कार्ययोजना बनाएर अघि बढ्नुपर्ने निष्कर्ष व्यक्त गरे ।
प्रचण्डले राखेका धारणा संक्षेपमा
१. राष्ट्रिय संकटको सामना गर्न एकजुट बनौँ
– यो महत्वपूर्ण पहलका लागि रवि लामिछानेजीलाई धन्यवाद दिन चाहन्छु।
– अहिले देश एउटा गम्भीर प्राकृतिक विपत्तिको सामना गरिरहेको छ। यस्तो अवस्थामा लामो बहस वा राजनीतिक आग्रह–पूर्वाग्रहमा अल्झिने होइन, सबै राजनीतिक शक्ति एक ठाउँमा उभिएर खोजी, उद्दार, राहतमा जुट्ने समय हो।
२. यो सामान्य प्राकृतिक विपत्ति मात्र होइन
नेपालको भौगोलिक अवस्थाका कारण हामीले वर्षौँदेखि बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक विपत्ति भोग्दै आएका छौँ। तर पछिल्ला केही घटनाको प्रकृति, तीव्रता र प्रभाव हेर्दा यी नियमित रूपमा भइरहने प्राकृतिक विपत्ति मात्र होइनन्; जलवायु परिवर्तन, हिमाली क्षेत्रमा बढ्दो जोखिम र बदलिँदो प्राकृतिक अवस्थासँग जोडिएका गम्भीर संकेतहरू हुन्।
त्यसैले तत्कालीन खोजी, उद्धार र राहतसँगै यस्ता विपत्तिको दीर्घकालीन जोखिम न्यूनीकरण र रोकथामका लागि वैज्ञानिक, प्राविधिक र नीतिगत अध्ययन गरी राष्ट्रिय रणनीति बनाउनुपर्छ।
तर अहिले हाम्रो पहिलो दायित्व भनेको मानिसको जीवन बचाउनु हो। खोज, उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि सरकार, राजनीतिक दल तथा सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वयका साथ साझा कार्ययोजना बनाएर अघि बढ्नुपर्छ।
यसका लागि सम्बन्धित छिमेकी मुलुकसँग तत्काल समन्वय गरी उपलब्ध सूचना तथा पूर्वसूचना संयन्त्रलाई प्रभावकारी रूपमा सक्रिय बनाउनुपर्छ। विशेषगरी हिमाली क्षेत्रमा यस्ता विपत्तिको जोखिम र पूर्वसूचना प्रणालीलाई दीर्घकालीन रूपमा बलियो बनाउन नेपालले छिमेकी मुलुक र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्नुपर्छ।
साथै, यो घटना नेपालले मात्र भोगिरहेको समस्या होइन भन्ने कुरा अन्तर्राष्ट्रिय समुदायसमक्ष स्पष्ट रूपमा राख्दै जलवायु परिवर्तनको असर भोगिरहेका हिमाली मुलुकका लागि जलवायु न्याय, क्षतिपूर्ति र अन्तर्राष्ट्रिय सहयोगको प्रश्नलाई सशक्त रूपमा उठाउनुपर्छ।
३. विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता चाहिन्छ
कोशी बाढी, सिन्धुपाल्चोकको जुरे पहिरो, २०७२ सालको भूकम्प र जाजरकोट भूकम्पलगायतका विपत्तिमा नेपाली समाज र राजनीतिक शक्तिहरूले संकटका बेला एकताबद्ध भएर सामना गरेको इतिहास छ।
आज पनि देशमा राजनीतिक मतभेद र विमति छन्। लोकतन्त्रमा ती स्वाभाविक हुन्। तर विपत्तिका बेला ती मतभेदलाई केही समय थाती राखेर राष्ट्र र नागरिकको पक्षमा एक ठाउँमा उभिनुपर्छ।
रसुवाको भोटेकोशी बाढीले सिर्जना गरेको यो गम्भीर संकटबाट पार पाउन सरकारलाई हाम्रो पार्टीको पूर्ण साथ र सहयोग रहनेछ। हाम्रो पार्टीले हिजै बैठक बसेर यस विषयमा आवश्यक निर्णय गरिसकेको छ र पार्टीको पंक्तिलाई उद्धार, राहत तथा सहयोगका काममा सरकारी निकाय संग समन्वय गरेर परिचालित हुन निर्देशन दिइसकेको छ।
आज हामी सबैले एउटा साझा संकल्प गर्नुपर्छ—विपत्तिमा कोही एक्लो नहोस्, उद्धार र राहतमा कुनै ढिलाइ नहोस् र राज्यको पहुँचबाट कुनै नागरिक बाहिर नपरोस्।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















