रोशी- काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाले हालैको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका पीडितहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक र प्रकोप व्यवस्थापन कोषको संयुक्त योगदानबाट उक्त रकम जम्मा गरी कोषमा पठाउन लागिएको हो।

गाउँपालिकाद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, भोटेकोशी तथा त्रिशुली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा ठूलो धनजनको क्षति भएको प्रति गाउँपालिकाले गहिरो दुःख व्यक्त गरेको छ। विपत्तिको यस कठिन समयमा सहयोगका लागि सधैँ तत्पर रहेको जनाउँदै गाउँपालिकाले आफ्ना जनप्रतिनिधिहरूको ७ दिन बराबरको सेवासुविधा र गाउँपालिकाअन्तर्गतका सम्पूर्ण कर्मचारी तथा शिक्षकहरूको १ दिन बराबरको तलबकट्टी गरी ९ लाख ७० हजार ७८२ रुपैयाँ सङ्कलन गरेको छ। सो रकममा प्रकोप व्यवस्थापन कोषबाट २९ हजार २१८ रुपैयाँ थप गरी कूल १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको हो।

गाउँपालिकाको बाढीबाट प्रभावित स्थानहरूमा रोशी गाउँपालिकाका कुनै पनि नागरिक बेपत्ता वा अलपत्र परेको जानकारी प्राप्त भएमा तत्काल खोज तथा उद्धारका लागि सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरिने समेत गाउँपालिकाका प्रवक्ता वसन्त कुमार तामाङद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।