चौंरीदेउराली- काभ्रेपलाञ्चोक जिल्लाको। चौंरीदेउराली गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्तिहरूको उद्धार, राहत तथा पुन:स्थापनाका लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा रु. १० लाख (दश लाख रुपैयाँ) सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। गाउँपालिकाका जनप्रतिनिधिहरू, राष्ट्रसेवक कर्मचारीहरू तथा गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट संकलन गरी सो रकम प्रदान गर्न लागिएको हो ।

गत २०८३ भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाका नदी किनार क्षेत्रमा ठूलो जनधनको क्षति पुगेको छ। यस राष्ट्रिय विपद्को घडीमा गाउँपालिकाका अध्यक्ष रेणुका चौलागाईंले भदौ १२ गते एक विज्ञप्ति जारी गर्दै बाढीका कारण ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनमा गहिरो दुख व्यक्त गर्नुभएको छ।

साथै, गाउँपालिकाले बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ता भएका नागरिकहरू छिटै सम्पर्कमा आउने विश्वास व्यक्त गरेको छ। गाउँपालिकाले यस कठिन परिस्थितिमा विपद् प्रभावित क्षेत्रका बासिन्दालाई सक्दो सहयोग पुर्‍याउन र राष्ट्रिय विपद्को सामना गर्न सबै पक्षलाई यथासम्भव सहयोग गर्न हार्दिक अनुरोध समेत गरेको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।