बेथानचोक- काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूका लागि रु. ३५ लाख विपद् सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
गाउँ कार्यपालिकाको मिति २०८३ भाद्र १५ गते बसेको बैठकले “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” मा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो। जस अनुसार गाउँपालिकाको विपद् कोषबाट रु. १५ लाख र गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीहरूले पाउँदै आएको सेवा सुविधा एवं पारिश्रमिकबाट रु. २० लाख गरी कुल रु. ३५ लाख सहयोग उपलब्ध गराइने भएको छ।
गत २०८३ भाद्र १० गते आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको प्रति गाउँपालिका परिवारले गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धान्जली र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
बेपत्ताहरूको खोजी तथा उद्धार कार्यमा सक्रिय रूपमा लागिरहेको जनाउँदै गाउँपालिकाले यस दुःखद घडीमा चालु आर्थिक वर्षमा स्वीकृत तीज लगायतका सबै सार्वजनिक कार्यक्रमहरू स्थगित गरिएको जानकारी दिएको छ। गाउँपालिका अध्यक्ष भगवान अधिकारीद्वारा जारी विज्ञप्ति मार्फत उक्त निर्णय सार्वजनिक गरिएको हो।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















