काठमाडौँ- गोकर्णेश्वर-६, काठमाडौँस्थित बुद्ध एकेडेमी आवासीय विद्यालय (बुद्ध एकेडेमी बोर्डिङ स्कुल) ले भोटेकोशीमा आएको बाढीबाट प्रभावित २५ जना बालबालिकालाई कक्षा १० (एसईई) सम्म नि:शुल्क शिक्षा, आवास, भोजन तथा आवश्यक स्वास्थ्य सेवासहितको पूर्ण संरक्षण प्रदान गर्ने घोषणा गरेको छ।

गत भाद्र १० गते भोटेकोशीमा आएको बाढीका कारण शिक्षा तथा आधारभूत आवश्यकताबाट वञ्चित हुन पुगेका बालबालिकाहरूको भविष्यप्रति संवेदनशील हुँदै विद्यालयले उक्त सामाजिक उत्तरदायित्व वहन गर्ने प्रतिबद्धता जनाएको हो।

विद्यालयका प्रधानाध्यापक सोनि बरालद्वारा जारी प्रतिबद्धता पत्रअनुसार बाढीका कारण अभिभावक गुमाएका, विस्थापित भएका वा अत्यन्तै विपन्न तथा कठिन परिस्थितिमा रहेका बालबालिकाहरूलाई यस कार्यक्रममा विशेष प्राथमिकता दिइनेछ।

“बाढीले धेरै कुरा बगायो, अब बालबालिकाको भविष्य बग्न नदिऔँ” भन्ने मूल नाराका साथ सुरु गरिएको यस अभियानमा सहभागी हुन तथा सुविधा लिनका लागि सम्बन्धित अभिभावक, संरक्षक वा सरोकारवाला निकायहरूलाई आवश्यक विवरणसहित विद्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।