धुलिखेल-  भोटेकोशी र त्रिशुली नदीमा आएको भिषण बाढी तथा डुबानबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लाहरूमा पुगेको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिकाले उद्धार तथा राहत कार्यका लागि १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। नगरपालिकाको कार्यपालिका बैठकले बाढीपीडितहरूको उद्धार, राहत, पुनर्स्थापना र दीर्घकालीन पूर्वतयारीका लागि विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको हो।

नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रुपैयाँ उपलब्ध गराउनुका साथै नगरपालिकाले रसुवाका बाढीप्रभावितहरूका लागि खाद्यान्न, लत्ताकपडा, औषधि तथा सरसफाई सामग्री लगायतका अत्यावश्यक राहत उपलब्ध गराउन आवश्यक सहजीकरण गर्ने भएको छ। बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै नगरपालिकाले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ र प्रभावितहरूको सुरक्षाको कामना गरेको छ।

राहत सामग्री संकलन, व्यवस्थापन तथा ढुवानीका लागि नगरपालिकाले सूचना, सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल समेत जारी गरेको छ। राहत संकलन र समन्वयका लागि नगर प्रहरी सुकदेव थापा (सम्पर्क नं. ९८४१४७९९५४) लाई जिम्मेवारी तोकिएको छ। साथै, भविष्यमा यस्ता विपद्को जोखिम न्यूनीकरणका लागि प्रारम्भिक पूर्वतयारी, सूचना प्रणाली सुदृढीकरण, सामुदायिक सचेतना र दिगो संरचनाको योजना तयार गर्न सम्बन्धित शाखाहरूलाई निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यस्तो छ बैठकको निर्णयः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।