चौंरीदेउराली- काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिकामा मन्दिर परिसरको पिपलको रुखमा घण्टी झुन्ड्याउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चौरीदेउराली गाउँपालिका-५ केउरेनी बस्ने अन्दाजी ६१ वर्षीय रुद्र प्रसाद गौतम रहेका छन्।

प्रहरीका अनुसार शुक्रबार बिहान अन्दाजी ११:०० बजेको समयमा गौतम आफ्नो घरबाट करिब १०० मिटर उत्तरतर्फ रहेको महाकालीदेवी मन्दिर मानिँदै आएको पिपलको रुखमा घण्टी झुन्ड्याउन गएका थिए । सोही क्रममा पिपलको रुखसँगै रहेको श्री जागृति माध्यमिक विद्यालयको करिब ६ फिट अग्लो पिल्लर गेटबाट उनी अचानक लडेका थिए ।

लडेर टाउकोमा गहिरो चोट लागी गम्भीर घाइते भएका गौतमलाई तत्काल उपचारका लागि स्थानीय धुसेनी देउराली अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा बिहान ११:१५ बजे उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाउनासाथ घटनास्थलमा प्रहरी निरीक्षकको कमाण्डमा विशेष टोली खटिएर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको काभ्रे प्रहरीले जनाएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।