नमोबुद्ध- नमोबुद्ध क्षेत्र विकास समितिका अध्यक्ष शंखबुद्ध लामाले गुम्बामा हातहतियार राखिने र बली चढाइने भन्ने केही राजनीतिक दलका नेताहरूको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसलाई ‘मुर्खताको पराकाष्ठा’ को संज्ञा दिएका छन् ।
हालै सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले अहिंसा र शान्तिका प्रतीक भगवान् बुद्धको दर्शनमा आधारित गुम्बामाथि यस्ता आधारहीन आरोप लगाउने नेताहरू सम्बन्धित दलका लागि ‘भाइरस’ सरह भएको दाबी गरेका छन् ।
अध्यक्ष लामाले कठोर ध्यान साधनाबाट बुद्धत्व प्राप्त गर्नुभएका भगवान् बुद्धले सर्वसाधारणका लागि पञ्चशील र भिक्षु-भिक्षुणीका लागि अष्टशील, १० शील हुँदै २५३ शीलसम्म प्रतिपादन गर्नुभएको स्मरण गराएका छन् । बौद्ध धर्मावलम्बीहरू पशु-प्राणीको हत्या त परै जाओस्, हत्या भएको दृश्यसम्म हेर्न नसक्ने र हेर्न नहुने मान्यता राख्ने भएकाले हचुवाका भरमा यस्ता भ्रामक अभिव्यक्ति दिनु खेदजनक रहेको उनको भनाइ छ।
यसरी बिना आधार र दायित्वहीन तरिकाले अभिव्यक्ति दिने नेताहरूले देश र जनताको के सेवा गर्लान् भन्दै उनले प्रश्न समेत गरेका छन् । धर्म, दर्शन, संस्कृति, पर्यटन र समाज विरोधी यस्ता कुविचार भएका व्यक्तिहरूलाई सम्बन्धित राजनीतिक दलले शीघ्र कारबाही गर्नुपर्ने मागसमेत उनले गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















