बनेपा- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१, टुकुचामा अवैध रूपमा गोरु काटेर बिक्रीवितरण गरिरहेको अवस्थामा प्रहरीले २५ किलोग्राम मासुसहित तीनजनालाई नियन्त्रणमा लिएको छ। गोप्य सूचनाको आधारमा प्रहरी चौकी नाला र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई रंगेहात पक्राउ गर्न सफल भएको हो।

२०८३ साल भाद्र २१ गते बिहान ८:५५ बजे टुकुचा क्षेत्रमा गोरु काटेर बेचबिखन भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी नालाबाट प्रहरी सहायक निरीक्षक माधव खड्का र इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी नायब निरीक्षक राजन वनमालाको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा परिचालन भएको थियो।

स्थानीय यज्ञ कुमार श्रेष्ठको घरमा भाडामा बसिरहेका व्यक्तिहरूको कोठाबाट अन्दाजी २० देखि २५ के.जी. गोरुको मासु बरामद गरिएको छ। प्रहरीले खानतलासी गर्ने क्रममा मासु बरामद भएको स्थानदेखि उत्तरतर्फ करिब १.५ किलोमिटर टाढाको खेतमा गोरु काटेर मासुबाहेकका अन्य अङ्गहरू माटोमा गाडिएको र छाला पोलेको गन्धसहितका प्रमाणहरू फेला पारेको थियो।

घटनास्थलबाट प्रहरीले जिल्ला बर्दिया, राजापुर नगरपालिका-२ बस्ने ३० वर्षीय रमेश चौधरी, जिल्ला सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-४ बस्ने २२ वर्षीय सोमराज तामाङ र . जिल्ला काभ्रे, महाभारत गाउँपालिका-२ घर भई हाल बनेपा नगरपालिका-१ टुकुचा बस्ने ६० वर्षीय ज्ञान बहादुर मोक्तानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बनेपा पठाइएको जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।