नुवाकोट । भोटेकोसी बाढीले घर मात्रै होइन, धेरै परिवारको दैनिकी चलाउने आधारसमेत उजाडिदियो। भान्सामा रहेका भाँडाकुँडा बगाएपछि खाद्यान्न पाए पनि खाना पकाउन समस्या झेलिरहेका नुवाकोटका बाढीपीडित परिवारका लागि तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालले राहतको फरक पहल गरेको छ।
भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित विदुर नगरपालिका–९, कोलानीस्थित स्टार बोर्डिङ क्षेत्रका १०० परिवारलाई मोर्चाले खाना पकाउन आवश्यक सामग्री वितरण गरेको हो। राहतस्वरूप प्रत्येक परिवारलाई प्रेसर कुकर, ताप्के तथा आवश्यक भाँडाकुँडा उपलब्ध गराइएको छ।
बाढीपछि विभिन्न संघसंस्था तथा व्यक्तिहरूबाट खाद्यान्न, कपडालगायतका सामग्री पुगे पनि घरायसी सामानको अभाव भने कायमै रहेको प्रभावित क्षेत्रमा देखिएको थियो। यही अवस्थालाई मध्यनजर गर्दै मोर्चाले पीडितको तत्कालीन आवश्यकताअनुसार भान्सामा प्रयोग हुने सामग्री वितरण गरेको जनाएको छ।
तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष अबिरल जिम्बाले राहत वितरण गर्दा पीडितको वास्तविक आवश्यकता पहिचान गर्नुपर्ने बताए।
उनले बाढीपीडित क्षेत्रमा खाद्यान्न र लत्ताकपडा तुलनात्मक रूपमा पुगे पनि बाढीले घरायसी भाँडाकुँडा बगाएका कारण धेरै परिवारलाई खाना पकाउनै समस्या भइरहेको अवस्था देखिएपछि सोही आवश्यकतालाई प्राथमिकता दिएर राहत वितरण गरिएको बताए।
“राहत भनेको सबै ठाउँमा एउटै सामग्री पुर्याउनु मात्र होइन, पीडितलाई अहिले वास्तवमै के आवश्यक छ भन्ने बुझेर सहयोग गर्नु पनि हो,” जिम्बाले भने, “भान्सामा आवश्यक सामग्रीको अभाव देखिएपछि १०० परिवारलाई प्रेसर कुकर, ताप्के र भाँडाकुँडा उपलब्ध गराएका हौँ।”
उनका अनुसार विपद्पछि प्रभावित परिवारलाई तत्कालीन राहतसँगै आगामी दिनमा आवश्यक पर्ने सहयोगका लागि समेत समन्वय र सहकार्यलाई निरन्तरता दिइनेछ।
राहत वितरण कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय नेता सूर्यमान दोङ (लालध्वज), तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालका केन्द्रीय अध्यक्ष अबिरल जिम्बासहित केन्द्रीय पदाधिकारी, सदस्य तथा सहयोगी टोलीको सहभागिता रहेको थियो।
बाढीबाट प्रभावित परिवारको दैनिक जीवन सहज बनाउन लक्षित गरी गरिएको सहयोगप्रति तामाङ राष्ट्रिय मुक्तिमोर्चा जिल्ला समन्वय समितिले आभार व्यक्त गरेको छ। समितिले विपद्को समयमा पीडितको आवश्यकता पहिचान गरी गरिएको सहयोगले प्रभावित परिवारलाई तत्काल राहत मिलेको जनाएको छ।
भोटेकोसी बाढीले ठूलो क्षति पुर्याएको नुवाकोटमा अझै पनि प्रभावित परिवारहरू सामान्य जीवनमा फर्कने प्रयासमा छन्। यस्तो अवस्थामा एक बोरा खाद्यान्नभन्दा फरक, घरको चुलो बाल्न आवश्यक सामग्रीसम्म पुग्ने राहतले पीडितको दैनिकीसँग जोडिएको वास्तविक आवश्यकता सम्बोधन गर्ने प्रयास गरेको छ।
मोर्चाले आगामी दिनमा पनि बाढीपीडित परिवारको अवस्था र आवश्यकतालाई हेरेर सहयोग तथा समन्वयलाई निरन्तरता दिने जनाएको छ।






















