काठमाडौं । भाद्र १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको अकल्पनीय जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल तामाङ कलाकार संघले बाढीपीडितका लागि ९ लाख रुपैयाँ राहत रकम संकलन गरेको छ।
नेपाल तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तानले तेमाल अनलाइनलाई जानकारी दिँदै विपत्तिको यस कठिन घडीमा पीडित परिवारको साथमा उभिन संघले राहत अभियान सञ्चालन गरेको बताउनुभयो। उहाँका अनुसार बाढीबाट प्रभावित कलाकार, उनीहरूका परिवार तथा अति प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले संघले अभियान अघि बढाएको हो।
संघले बाढीका कारण ज्यान गुमाएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ। साथै बाढीका कारण घाइते तथा प्रभावित भएकाहरूको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामनासमेत गरेको छ।
संघका अनुसार संस्थागत रूपमा ५० हजार रुपैयाँ सहयोग छुट्याइएको छ भने संघका सम्पूर्ण पदाधिकारी, सल्लाहकार, सदस्य, आजीवन सदस्यलगायत विभिन्न सहयोगीदाताबाट स्वेच्छिक रूपमा ८ लाख ५० हजार रुपैयाँ संकलन भएको छ। यसरी राहतका लागि कुल ९ लाख रुपैयाँ रकम जुटाइएको अध्यक्ष काल्तनले जानकारी दिनुभयो।
अध्यक्ष काल्तनका अनुसार संकलित रकमलाई घोषणा गरेर सीमित नराखी वास्तविक रूपमा प्रभावित तथा अति प्रभावित परिवारसम्म पुर्याउने संघको योजना रहेको छ। विशेषगरी बाढीका कारण घरपरिवार गुमाएर पीडामा रहेका परिवार तथा प्रभावित कलाकार परिवारलाई प्राथमिकतामा राखेर राहत रकम हस्तान्तरण गरिनेछ।
“विपत्तिको समयमा कलाकार समुदायको सामाजिक उत्तरदायित्व पनि हुन्छ। पीडामा रहेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीलाई सकेको सहयोग गर्नु हाम्रो मानवीय कर्तव्य हो,” अध्यक्ष काल्तनले भन्नुभयो।
संघले राहत अभियानमा आर्थिक तथा अन्य माध्यमबाट साथ दिने सम्पूर्ण पदाधिकारी, कलाकार, सदस्य, शुभेच्छुक तथा सहयोगीदाताप्रति आभार व्यक्त गरेको छ। विपत्तिमा कला र मनोरञ्जनभन्दा माथि उठेर मानवताको पक्षमा कलाकार समुदाय एकजुट हुनुपर्ने सन्देशसमेत यस अभियानले दिएको छ।
संघका महासचिव खेम मोक्तानद्वारा जारी सूचनामार्फत संकलित रकम संस्थाको निर्णयअनुसार प्रभावित कलाकार तथा अति प्रभावित परिवारलाई हस्तान्तरण गरिने जनाइएको छ। हाल भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा राहत, पुनःस्थापना र जनजीवन सामान्य बनाउने प्रयास जारी छ।






















