तेमाल- काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकाले हालैको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायत जिल्लाका बाढीपीडितका लागि २५ लाख ३३ हजार ३३३ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङले आज एक प्रेस विज्ञप्ति मार्फत सो निर्णय गरेको जनाएको हो ।
अध्यक्ष तामाङद्वारा जारी विज्ञप्ति अनुसार बाढीका कारण विभिन्न स्थानमा भएको जनधनको क्षतिप्रति गाउँपालिकाले गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
विपद्को समयमा गाउँपालिकाका जनप्रतिनिधिहरूको १० (दश) दिन बराबरको सेवासुविधा वापतको रकम तथा गाउँपालिकाका सम्पूर्ण कर्मचारी र शिक्षकहरूको पारिश्रमिकबाट कट्टा गरिएको रकम समेत संकलन गरी उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा सहयोग गर्ने निर्णय गरिएको अध्यक्ष तामाङले जानकारी दिएका छन् ।
गाउँपालिकाले विपद्का बेला जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरूको योगदानमार्फत पीडित नागरिकलाई सहयोग गर्ने उद्देश्यले उक्त निर्णय गरेको जनाएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















