काभ्रे । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन ‘अनन्त’ले मुलुकले विचार मिल्ने कम्युनिष्ट शक्तिबीच एकता र संविधान तथा लोकतन्त्र पक्षधर शक्तिबीच सहकार्य खोजिरहेको बताएका छन्। शनिबार नेपाली कम्युनिष्ट पार्टीको खानीखोला गाउँपालिका सम्पर्क समिति, काभ्रेको भेलालाई सम्बोधन गर्दै पुनले कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्दै लोकतान्त्रिक शक्तिसँग सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा राखेका हुन्।
पुनले नेकपा विभाजनपछि उत्पन्न निराशा र त्यसको पृष्ठभूमिमा गत भदौ २३ गतेदेखि सुरु भएको जेनजी आन्दोलन तथा २४ गते भएका घटनाक्रमलाई जोडेर राजनीतिक विश्लेषण प्रस्तुत गरे। नेकपाले गठबन्धनमार्फत बहुमत प्राप्त गरे पनि त्यसलाई टिकाउन नसक्दा कम्युनिष्ट शक्तिप्रति नै निराशा बढेको उनको भनाइ थियो।
‘नेकपा हुँदा गठबन्धन गरेर बहुमत ल्यायौँ, त्यसलाई टिकाउन सकेनौँ। नेकपाको बहुमत नटिकेकै कारण कम्युनिष्टले पनि गर्न सकेनन् भन्ने निराशा भयो। त्यसमा विभिन्न खालका चलखेल र घुसपैठ पनि भए,’ पुनले भने, ‘जुन प्वाइन्टमा गल्ती भयो, त्यही प्वाइन्टबाट अगाडि बढ्नुपर्छ।’
उनले नेपाली कम्युनिष्ट पार्टीलाई सम्मेलन वा महाधिवेशनमार्फत पुनर्गठन तथा सुदृढ गर्दै अन्य वाम घटकसँग एकताको प्रक्रिया अघि बढाउने बताए। अहिलेको चुनौती सामना गर्न विचार र एजेन्डा मिल्ने वाम शक्तिसँग सहकार्य गर्दै त्यसलाई एकतासम्म लैजानुपर्ने उनको भनाइ थियो।
‘नेपाली कम्युनिष्ट पार्टीलाई सुदृढ गर्नैपर्छ। हामी गर्छौँ। त्यतिले मात्र पुग्दैन। अहिलेको चुनौती सामना गर्न हामीले एजेन्डा मिल्ने विभिन्न वाम घटकसँग सहकार्य गर्ने र त्यसलाई एकतासम्म रूपान्तरण गर्ने काम गर्नुपर्छ,’ पुनले भने, ‘कम्युनिष्ट पार्टीलाई नेतृत्वदायी भूमिकामा स्थापित गर्न सम्भव छ, त्यो गर्न सकिन्छ।’
संविधान र लोकतन्त्र पक्षधर शक्तिबीच सहकार्यमा जोड
पुनले संविधान र वर्तमान व्यवस्थामाथि हुने प्रहार रोक्न नेपाली कांग्रेस, मधेसकेन्द्रित दललगायत संविधान र लोकतन्त्र पक्षधर शक्तिबीच सहकार्य आवश्यक रहेको बताए।
गत भदौ २३ गते सुरु भएको जेनजी आन्दोलन २४ गतेसम्म पुग्दा ‘हाइज्याक’ भएको दाबी गर्दै उनले आन्दोलनमा भूराजनीतिक चलखेल र घुसपैठ भएको बताए।
‘गत भदौ २३ र २४ गते देशमा ठूलो दुर्घटना भयो। जेनजीहरूले २३ गते आन्दोलन गरे। २४ गतेसम्म जाँदा त्यो आन्दोलन हाइज्याक भयो। भूराजनीतिक चलखेल, द्वन्द्व र घुसपैठ भयो,’ उनले भने।
पाकिस्तान, श्रीलंका र बंगलादेशका राजनीतिक घटनाक्रमसँग नेपालको पछिल्लो अवस्थालाई जोड्दै पुनले विश्वका ठूला शक्तिबीचको भूराजनीतिक प्रतिस्पर्धाको प्रभाव नेपालमा पनि परेको बताए। अमेरिका, चीन र भारतबीच बढ्दो प्रतिस्पर्धाका कारण नेपालजस्ता साना तथा मध्यम मुलुकमाथि चुनौती थपिएको उनको भनाइ थियो।
‘अमेरिका, चीन र भारत आपसमा तानातानमा छन्, आफ्नो प्रभाव क्षेत्र विस्तारमा छन्। साना वा मझौला देशको अस्तित्व आज निकै चुनौतीपूर्ण अवस्थामा छ। देशै बच्छ कि बच्दैन भन्नेजस्तो छ,’ पुनले भने।
इरान, भेनेजुयला, युक्रेन र प्यालेस्टाइनका घटनाक्रमलाई उदाहरण दिँदै उनले विश्व राजनीति शक्ति संघर्षतर्फ केन्द्रित भएको बताए।
‘ठूला देशहरूबीचको लडाइँमा युक्रेन मिचिइराखेको छ। प्यालेस्टाइनमा ठूला देशको लडाइँ छ, जनता चेपुवामा परेका छन्। विश्वभर जसको शक्ति उसको भक्ति जस्तो छ। विश्व राजनीति कुनै नियममा चलेको छैन,’ उनले भने।
क्षेत्रीय गठबन्धन निर्माणको क्रम बढिरहेको भन्दै पुनले नेपालको स्वाधीनता र राष्ट्रिय हित जोगाउन कूटनीतिक सन्तुलन कायम गर्नुपर्ने बताए। नेपालले आफ्नो स्पष्ट ‘पोजिसन’ तय गर्दै राष्ट्रिय हितलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।
‘देश रह्यो भने आन्तरिक राजनीतिक प्रतिस्पर्धा त गर्दै गरौँला नि,’ पुनले भने।
यद्यपि, भूराजनीतिक प्रभावलाई मात्र कारण देखाएर राजनीतिक दलहरूले आफ्ना कमजोरीबाट उम्किन नहुने उनले बताए।
युवासँग पार्टीको सम्बन्ध सुधार्नुपर्ने
पुनले पछिल्लो पुस्तासँग स्थापित राजनीतिक दलहरूको सम्बन्ध कमजोर बन्दै गएको स्वीकार गर्दै युवालाई केवल मतदाताका रूपमा हेर्ने प्रवृत्ति परिवर्तन गर्नुपर्ने बताए।
सूचना प्रविधिको तीव्र विस्तारसँगै युवाको राजनीतिक चेतना र बुझाइमा समेत परिवर्तन आएको भन्दै उनले प्रविधिलाई राजनीतिक प्रशिक्षण र संगठन विस्तारको माध्यम बनाउनुपर्ने धारणा राखे।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















